शिक्षक आन्दोलन
काठमाडौं — नेपाल शिक्षक महासंघले सरकारलाई विद्यालय शिक्षा विधेयक पारित गर्न साउन २१ सम्मको अल्टिमेटम दिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले तोकिएको म्यादभित्र विधेयक पारित नभए विगतको भन्दा सशक्त आन्दोलनमा जाने चेतावनी दिएको हो।
गत वैशाख १७ मा सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयनमा गम्भीर नदेखिएको भन्दै महासंघले आक्रोश पोखेको छ। महासंघका पदाधिकारीले असार १५ भित्र विधेयक प्रतिनिधिसभाबाट पास गर्ने सरकारको प्रतिबद्धता आफैंले तोडेको र त्यसको दोष उल्टै शिक्षकहरूलाई देखाउँदै पन्छिन खोजेको आरोप लगाए।
“साउन २१ भित्र विधेयक नआए हाम्रो आन्दोलन थप कडा हुनेछ,” महासंघका अध्यक्षले भने, “सरकारले सहमति कार्यान्वयनमा इमानदारिता देखाएको छैन। हामी बाध्य भएर सडकमा जान्छौं।”
शिक्षक महासंघले आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गर्ने जनाएको छ।
महासंघका अनुसार सहमतिअनुसार अस्थायी शिक्षकलाई स्थायी बनाउने, स्थायी शिक्षकको बढुवा प्रक्रिया, विभागीय कारबाही, विद्यालय कर्मचारी व्यवस्थापन, इसीडी (शैशव शिक्षा) का शिक्षकको व्यवस्थापन र ट्रेड युनियन अधिकारजस्ता विषयमा सरकारले षडयन्त्रपूर्वक ढिलाइ गरेको छ।
“सहमति कार्यान्वयनमा सरकारको लाचारीपन प्रस्ट देखिन्छ,” महासंघको विज्ञप्तिमा उल्लेख छ, “सरकारले पटक–पटक समय घर्काउँदै शिक्षकहरूलाई दोषी देखाएर विधेयकलाई शिक्षा समितिमा अल्झाइराख्नु गलत हो।”
महासंघले सरकारले अब पनि चासो नदेखाए आन्दोलन नै विकल्प भएको स्पष्ट पारेको छ।
View : 325
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved