कक्षा १२ परीक्षा
काठमाडौँ – आइतबारदेखि देशभर सुरु हुने कक्षा १२ को परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक उपकरणहरू लैजान कडाइका साथ निषेध गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शनिबार सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
बोर्डले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न इलेकट्रोनिक डिभाइसमा प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ। सूचनामा भनिएको छ, "परीक्षा हलमा मोबाइल वा अन्य निषेधित सामग्री लिएको पाइएमा ती सामग्री जफत गरिनेछ र सम्बन्धित परीक्षार्थीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ। साथै, ती परीक्षार्थीको सम्पूर्ण परीक्षा रद्द गरिनेछ।"
यस वर्षको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा सञ्चालनका लागि देशभर १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। यी केन्द्रहरूमा ५ हजार २०२ विद्यालयका विद्यार्थीहरूले परीक्षा दिनेछन्।
बोर्डले सम्पूर्ण परीक्षार्थीलाई समयमै परीक्षा केन्द्रमा उपस्थित हुन, परिचयपत्र अनिवार्यरूपमा साथमा ल्याउन र परीक्षा अनुशासन पालना गर्न अनुरोध गरेको छ।
View : 278
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved