Biratnagar, Morang, Nepal
खेलकुद

आइपिएल २०२५

पञ्जाब किङ्स पहिलो क्वालिफायरमा, मुम्बई इन्डियन्स ७ विकेटले पराजित

-
अखवारका कुरा
१३ जेठ २०८२, मङ्गलवार

Advertisement


पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सोमबार सम्पन्न अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै पञ्जाबले शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको हो।

मुम्बईले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पञ्जाबले १८.३ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्‍यो। जोश इङ्लिसले आक्रामक ब्याटिङ गर्दै ७३ रन बनाए भने प्रियान्श आर्याले ६२ रनको योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि १०९ रनको शतकीय साझेदारी भएको थियो। कप्तान श्रेयस अय्यर २६ रनमा नटआउट रहे।

मुम्बईका लागि मिचेल सान्टनरले २ विकेट र जसप्रित बुमराहले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनायो। सुर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए भने रायन रिकेल्टनले २७ र हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए।

पञ्जाबका बलरहरूमध्ये अर्शदीप सिंह र मार्को यानसेनले समान २ विकेट लिए। विजयकुमार वाइशाकले पनि २ विकेट हात पार्दा हरप्रीत ब्रारले १ विकेट लिए।

यस जितसँगै पञ्जाब १४ खेलमा १९ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने चौथो स्थानमा रहेर इलिमिनेटर खेल्ने निश्चित भएको छ।

शीर्ष दुईमा पर्न बाँकी रहेको अर्को स्थानका लागि मंगलबार लखनउ सुपर जायन्ट्स र रॉयल च्यालेन्जर्स बेंगलुरुबीच हुने अन्तिम लिग खेल निर्णायक हुनेछ। बेंगलुरु विजयी भएमा पहिलो क्वालिफायर खेल्नेछ भने हार भएमा गुजरात टाइटन्सले क्वालिफायरमा स्थान बनाउनेछ।

View : 176

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved