धनकुटा — कोशी प्रदेशको धनकुटास्थित एक मात्र निजामती आवासीय विद्यालयलाई प्रदेशकै उत्कृष्ट र नमूना शिक्षालयका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
शुक्रबार विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तयार पारिएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिदेखि शिक्षाविद्हरूले विद्यालयको समग्र रूपान्तरणका लागि दीर्घकालीन योजना र बहुआयामिक प्रयास आवश्यक भएको बताए।
कार्यक्रम शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजन र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षा विकास तथा अनुसन्धान केन्द्र काठमाडौंको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयको भौतिक पूर्वाधार सुधार, छात्र तथा छात्रावास सुविधाको विस्तार, प्रविधिमा आधारित शिक्षण विधि, दक्ष जनशक्ति अभिवृद्धि, बालमैत्री वातावरण निर्माण र समुदाय सहभागिता अभिवृद्धिजस्ता विषयमा विशेष जोड दिइएको थियो।
“प्रदेश सरकारले जुन उद्देश्यले यो विद्यालय स्थापना गरेको हो, त्यस अनुरूप अब व्यवहारिक कार्य अघि बढ्नुपर्छ,” कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङले भने, “यो विद्यालयलाई नमूना बनाएर देशभरिका विद्यार्थी आकर्षित गर्ने वातावरण सिर्जना गर्नुपर्छ।”
त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विनोद लुँटेल र प्रा. कमलकुमार पौडेलले संयुक्त रूपमा प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदनमा विद्यालयको वर्तमान अवस्था, सुधारका प्राथमिक क्षेत्र, दीर्घकालीन मास्टर प्लान, अनुमानित लागत, कार्यान्वयन रणनीति तथा आवश्यक सहयोग संयन्त्रहरूको उल्लेख गरिएको छ।
प्रतिवेदनमा विद्यालयको शैक्षिक अवस्था, पहुँच व्यवस्थापन, सिकाइ उपलब्धि, समावेशिता, भौतिक पूर्वाधार र मानव संसाधनको विस्तृत मूल्याङ्कनसहितका सुझाव समावेश छन्। सहभागीहरूले प्रतिवेदनमा आधारित भएर थप परिमार्जनसहित तत्काल कार्ययोजना अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाविद् तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस्तै, विद्यालयमा अध्ययन गरेका तर हाल विद्यालय छाडिसकेका विद्यार्थीहरूको अवस्थाबारे सर्वेक्षण गर्नुपर्ने, निजामती शिक्षकका सन्तानले पनि सोही विद्यालयमा अध्ययन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझावहरू पनि उठाइएको थियो।
कार्यक्रमले विद्यालयको रुपान्तरणका लागि बहसको थालनी गरेको भन्दै सहभागीहरूले यसलाई आगामी कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
View : 125
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved