विराटनगर, असार १४– लायन्स/लियो क्लब अफ विराटनगर मोरङको आयोजनामा तथा कोशी हेल्थ इन्स्टिच्युट, विराटनगरको सहयोगमा विराटनगर–१ स्थित शंकरचोकको समुदायमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा २०० भन्दा बढी समुदायका सदस्यहरूले सुगर र प्रेसर परीक्षण गराएका छन्। साथै उक्त अवसरमा कोशी हेल्थ इन्स्टिच्युट विराटनगरमा पी.सि.एल. नर्सिङ प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले फोहोर व्यवस्थापन सम्बन्धी नाटक तथा नृत्य प्रस्तुति पनि गरी समुदायमा जनचेतना जगाउने काम सम्पन्न गरेका छन्।
कार्यक्रम समुदाय स्वास्थ्य निरुपण कार्यअन्तर्गत सञ्चालन गरिएको हो। इन्स्टिच्युटमा अध्यापन हुने अन्य स्वास्थ्य प्राविधिक विषयहरू सामान्य चिकित्सा (एच.ए), डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, फिजियोथेरापी लगायतका कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले पनि विभिन्न स्थानहरूमा प्रयोगात्मक अभ्यासका क्रममा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।
यसरी सञ्चालन गरिएका कार्यक्रमहरूले विद्यार्थीहरूले व्यवहारिक सीप सिक्ने अवसर प्राप्त गर्नुका साथै समुदाय पनि लाभान्वित हुने गरेको पी.सि.एल. नर्सिङ कार्यक्रम संयोजक रक्षा दाहालले जानकारी दिनुभयो।
View : 266
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved