Biratnagar, Morang, Nepal
बिदेश

भारतमा नेपाली विधार्थी मृत्यु प्रकरण

भारतको कीट विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत अवस्थामा भेटिइन

निरन्तर दोहोरिरहने यस्ता घटनाले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
-
अखवारका कुरा
१९ वैशाख २०८२, शुक्रवार

Advertisement

विराटनगर  |
भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।

बीटेक सिएसई (कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ) को पहिलो वर्षमा अध्ययनरत वीरगन्ज महानगरपालिका–१५, भिस्वा निवासी १९ वर्षीया प्रिशा साह बिहीवार साँझ विश्वविद्यालयकै ‘QC-4’ छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। उनी श्याम साहकी छोरी हुन् भने उनको स्थायी ठेगाना सर्लाहीको मलंगवा हो।

छात्राको मृत्युबारे उनका भाइ गौरव साहले जानकारी दिँदै भने, “बिहीवार राति करिब ९ बजे कलेज प्रशासनले फोनमार्फत प्रिशाको निधनको खबर दिएको थियो। त्यसअघि दिउँसो ३ बजेतिर प्रिशाले घरमा फोन गरेर १८ मेमा विदामा घर आउने जानकारी गराएकी थिइन्।”

प्रिशाको मृत्युपछि दिल्लीस्थित नेपाली दूतावासले पनि घटनाको पुष्टि गरेको छ। कलेज प्रशासनले परिवारजनलाई खबर गरिसकेको र उनीहरू कलेज आइपुगेपछि मात्र पोष्टमार्टम प्रक्रिया अघि बढाइने जानकारी दूतावासले दिएको छ।

यो घटनाले केही समयअघि भएको अर्को दुखद स्मृतिलाई पनि पुनः सतहमा ल्याएको छ। यसअघि गत फागुनमा बुटवलकी २० वर्षीया छात्रा प्रकृति लम्सालको शव पनि सोही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा फेला परेको थियो। सो घटनापछि विद्यार्थी आन्दोलन भएको थियो भने विश्वविद्यालय प्रशासनमाथि लापरबाहीको आरोप लागेको थियो। आन्दोलनपछि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पुनः क्याम्पस फर्कन अनुरोध गरेको थियो।

प्रकृति लम्सालको घटनामा एक जनालाई पक्राउ गरिएर अनुसन्धान भइरहेको छ भने ओडिसा राज्य सरकारले उच्चस्तरीय समिति गठन गरी छानबिन अघि बढाएको थियो।

निरन्तर दोहोरिरहने यस्ता घटनाले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

View : 33

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved