काठमाडौं, १० भदौ – हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर पूजाआराधना, व्रत र उल्लाससहित मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्व विशेष गरी महिलाले भगवान् शिवको आराधना गर्दै आफ्नो दाम्पत्य जीवनको सुख, समृद्धि र परिवारको कल्याणको कामना गर्ने परम्परा रहेको छ।
आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थीको बाक्लो भीड देखिएको छ। रातो र हरियो पहिरनमा सजिएका विवाहित तथा अविवाहित महिलाले शिवालय पुगेका छन्। पशुपति क्षेत्रमा बिहानैदेखि लामवद्ध भएर लाइनमा बसेका महिलाहरूले बेलपत्र, आक, धतुरा, दूध र गंगाजल अर्पण गर्दै महादेवलाई पूजा अर्चना गरेका छन्।
धार्मिक विश्वासअनुसार पार्वतीले भगवान् शिवलाई वरका रूपमा पाउन कठोर तपस्या गर्दै निर्जला व्रत बसेपछि नै तीज पर्वको प्रचलन सुरु भएको हो। त्यसयता यो पर्वलाई स्त्रीहरूको श्रद्धा, आस्था र भक्ति प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। तीजको अघिल्लो दिन ‘दर’ खाने परम्परा छ भने आज निराहार र निर्जला व्रत बसेर शिवजीलाई प्रसन्न तुल्याइने जनविश्वास छ।
सांस्कृतिक रुपमा तीज नारी सशक्तीकरण र सामुदायिक सद्भावको पर्वका रूपमा पनि स्थापित छ। महिलाहरू घर–घरमा भेला भई तीज गीत गाउने, नाचगान गर्ने र आपसी आत्मीयता साटासाट गर्ने गर्छन्। परम्परागत भाकासहित आधुनिक शैलीका गीत–संगीतले पनि तीजलाई समेटेका कारण यो पर्व नयाँ पुस्ताबीच समेत लोकप्रिय हुँदै गएको छ।
तीज पर्वले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने र सामाजिक सद्भावलाई बढाउने विश्वास गरिन्छ। महिलाले आफ्नो स्वास्थ्य, परिवार र समाजप्रति सचेत हुनुपर्ने सन्देश पनि यस पर्वले दिने गरेको छ ।
सरकारले तीजको अवसरमा महिला कर्मचारीलाई आज सार्वजनिक बिदा दिएको छ। काठमाडौंसहित मुलुकका गाउँ , सहर, बजारमा आज दिनभर तीजको रौनकमा श्रद्धालु महिलाहरु रमाउदै तीज पर्व मनाउदै छन ।
View : 926
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved