विराटनगर - सेवाग्राहीलाई सहज सेवा दिनुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरभित्रै बिचौलियाको संगठित जालो मौलाउँदै गएको तथ्य सार्वजनिक भएपछि प्रशासन र प्रहरी एकैसाथ कडा कारबाहीमा उत्रिएका छन् ।
काम छिटो गराइदिने बहानामा सेवाग्राहीलाई डर देखाउने, सरकारी कर्मचारीको नाम जोडेर रकम असुल्ने गतिविधिमा संलग्न ३० जना बिचौलियालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मालपोत कार्यालय विराटनगरबाट २० जना र जिल्ला प्रशासन कार्यालय मोरङबाट १० जना बिचौलियालाई पक्राउ गरिएको हो । लामो समयदेखि सेवाग्राहीबाट गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले कार्यालय परिसर र आसपास निगरानी बढाएको थियो । सोही क्रममा अवैध रूपमा रकम असुलीको प्रयास गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये दुई जना महिलालाई आवश्यक परे उपस्थित हुने सर्तमा छाडिएको र बाँकीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाले थप गम्भीर मोड तब लियो, जब जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता त्याग प्रक्रियाका लागि पुगेकी एक सेवाग्राही महिलासँग १० हजार रुपैयाँ माग्दै ‘त्यसमध्ये ५ हजार सीडीओ सावलाई बुझाउनुपर्छ’ भन्ने कुरा बाहिर आयो । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलकै नाम जोडेर रकम मागिएको सन्देश मंगलबार कट्टेलकै मोबाइलमा पुगेपछि तत्काल छानबिन अघि बढाइएको थियो ।
प्रशासनका अनुसार सोधपुछपछि रकम माग्ने व्यक्ति कर्मचारी नभई कार्यालय बाहिर बसेर लेखापढी गर्ने बिचौलिया भएको खुलेको छ । ती महिलाले व्यक्तिलाई स्पष्ट रूपमा चिन्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बिचौलियाहरूले ‘बिचौलिया बिना काम हुँदैन’ भन्ने भ्रम फैलाएर सेवाग्राहीबाट मनपरी रकम असुल्दै आएको बताए । उनका अनुसार कार्यालय परिसरमै साधारण फोटोकपीको ५० रुपैयाँसम्म लिने गुनासो आएपछि निगरानी कडा पारिएको हो ।
एसपी कटवालले निष्पक्ष छानबिन भइरहेको उल्लेख गर्दै भने, “निर्दोष छुट्नेछन्, दोषीमाथि कानुनी कारबाही हुन्छ । सेवाग्राहीलाई सास्ती दिने र सरकारी संयन्त्रको दुरुपयोग गर्ने जो–कोहीलाई कानुनले छुट दिँदैन ।”
पक्राउपछि भने मालपोत कार्यालय विराटनगरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भयो । प्रहरीले कर्मचारीको कार्यकक्षबाटै केही लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएपछि आक्रोशित बनेका व्यवसायीहरूले विरोधस्वरूप मुख्य गेटमा ताला लगाएर सेवा ठप्प पारे । सेवाग्राहीको चर्को असन्तुष्टिपछि भने ताला खोलिएको थियो ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन विराटनगर इकाईले पक्राउको विरोध गर्दै बिचौलियाको आरोपमा लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिइएको जनाएको छ । इकाई अध्यक्ष कञ्चन न्यौपानेले पक्राउ परेकालाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तर प्रशासन र प्रहरीले भने सरकारी कार्यालयभित्र सेवाग्राहीलाई त्रसित बनाउने, कर्मचारीको नाम जोडेर रकम असुल्ने र सेवाप्रवाहमा अवरोध सिर्जना गर्ने गतिविधि कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । हाल पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको भन्दै प्रहरीले अनुसन्धानपछि प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
View : 82
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved