एतिहासिक कोइराला निवास पुनर्निर्माण
विराटनगर, – प्रजातान्त्रिक आन्दोलनको प्रमुख आधारस्थल मानिने विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको पुनर्निर्माण कार्य सुरु भएको छ। गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा आन्दोलनकारीहरूले आगजनी गर्दा जलेर खरानी बनेको यो निवास अब नयाँ स्वरूपमा पुनःनिर्माण हुने भएको हो।
नेपालको प्रजातान्त्रिक यात्रामा कोइराला निवास विशेष महत्व राख्छ। बीपी कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालादेखि लोकतान्त्रिक आन्दोलनका धेरै महत्वपूर्ण बैठक, छलफल र योजना यही निवासबाट अघि बढाइएका थिए। त्यसैले यो घर नेपाली जनताको राजनीतिक इतिहाससँग गहिरो सम्बन्ध राख्ने प्रतीक मानिन्छ।
निवास जलाएको केही दिनपछि विराटनगर आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यस घरलाई पुनर्निर्माण गरेर लोकतन्त्रको सुदृढीकरणमा योगदान दिने बताएका थिए। उनले “यो निवास केवल एउटा घर मात्र होइन, नेपाली जनताको स्वतन्त्रता र अधिकारका लागि लडाइँको प्रतीक हो” भन्दै पुनर्निर्माणलाई ऐतिहासिक जिम्मेवारीको रूपमा व्याख्या गरेका थिए।
डा. कोइरालाले पुनर्निर्माणबारे पारिवारिक छलफलपछि अन्तिम निर्णय हुने बताएका छन्। उनका अनुसार पुरानै मोडलमा घर निर्माण गर्ने कि आधुनिक स्वरूप दिने भन्ने विषयमा अझै छलफल जारी छ। यद्यपि पुनर्निर्माणका लागि आवश्यक निर्माण सामग्री र कामदारहरू स्थलमा परिचालित भइसकेका छन् र काम तीव्र गतिमा अघि बढाइनेछ।
कोइराला निवासको पुनर्निर्माणले नेपाली लोकतन्त्रको यात्रामा फेरि एकपटक आशा र संकल्पको ऊर्जा भर्ने विश्वास गरिएको छ। स्थानीयवासी र राजनीतिक कार्यकर्ताहरूले पनि यसलाई ऐतिहासिक स्मारक जस्तै संरक्षित गर्नुपर्नेमा जोड दिएका छन्।
View : 100
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved