विराटनगरबाट कोइरालाको आव्हान
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई बलियो बनाउँदै लोकतन्त्रको जगेर्ना गर्न नयाँ पुस्ता, विशेषतः जेनेरेसन जेड (Gen Z)लाई कांग्रेससँग जोड्न आवश्यक रहेको बताएका छन्।
विराटनगर–४ वडा कार्यसमितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले भने, “कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, र लोकतन्त्र कमजोर भयो भने मुलुक अस्थिरतातर्फ जान्छ।” उनले बलियो लोकतन्त्रको आधार बलियो कांग्रेस भएको उल्लेख गरे।
राजनीतिप्रति नयाँ पुस्तामा देखिएको वितृष्णालाई चुनौतीका रूपमा व्याख्या गर्दै डा. कोइरालाले भने, “अबको मुख्य कार्य भनेको यही वितृष्णालाई आकर्षणमा बदल्नु हो। युवालाई लोकतन्त्र, कांग्रेसको इतिहास र जिम्मेवारीबारे बुझाउन जरुरी छ।”
उनले युवालाई पार्टीसँग जोड्न अब घरमै रहेका पाका कांग्रेस कार्यकर्ताहरूको सक्रियता आवश्यक रहेको बताए। “अनुभवी नेताहरूले आफ्ना अनुभव साट्दै युवालाई सक्रिय बनाउनेतर्फ अग्रसर हुनुपर्छ,” उनले भने।
त्यस्तै, हालै माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे उठेका चर्चाप्रति प्रतिक्रिया दिँदै उनले भने, “केपी ओली प्रतिपक्षमा हुँदा म बालकोट पनि गएको थिएँ। म सबैसँग भेटघाट गर्छु, त्यो मेरो स्वभाव हो। त्यसभित्र खास अर्थ खोज्न जरुरी छैन।”
उनले आफ्नै समूहका नेताहरू नागेश कोइराला र केदार कार्कीबारे पूर्वराष्ट्रपतिले चासो व्यक्त गरेको विषयमा पनि जानकारी गराउँदै घुमाउरो रूपमा पार्टीभित्र मेलमिलाप र सहकार्यको आवश्यकता औंल्याए। “एकै गन्तव्यमा पुग्न हामी सबै मिलेर जानुपर्छ,” उनले संकेत गरे।
कोइरालाले महेन्द्र मोरङ क्याम्पसको सन्दर्भ पनि उल्लेख गर्दै कलेजको हालको अवस्थाप्रति पूर्वराष्ट्रपतिले चिन्ता व्यक्त गरेको जानकारी दिए। “महेन्द्र मोरङ कोशी प्रदेशको गौरव हो। यहाँ पढ्ने पुराना नयाँ यसलाई बनाउने जिम्मेवारी लिनुपर्छ,” उनले जोड दिए।
कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरू, समाजसेवी, विद्यार्थी, महिला र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।
सो कार्यक्रममा वडा नम्बर ४ मा रहेका पुराना काङ्ग्रेसी कृयाशिल जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
View : 388
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved