Biratnagar, Morang, Nepal
खेलकुद

फिफा क्लब विश्वकप

फिफा क्लब विश्वकप: मेसीको इन्टर मियामी र पीएसजी आमनेसामने, नकआउट चरणमा रोमाञ्चक भिडन्त

-
अखवारका कुरा
१० असार २०८२, बुधवार

Advertisement

 

सियाटल — फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ चरणमा विश्वभरका फुटबलप्रेमीहरूलाई रोमाञ्चक भिडन्तको झलक मिल्ने भएको छ। इन्टर मियामीका स्टार लियोनल मेसी अब आफ्नो पूर्वक्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध मैदानमा उत्रने भएका छन्। मेसी सन् २०२३ मा फ्रेन्च च्याम्पियन पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा प्रवेश गरेका थिए।

यस निर्णायक चरणमा यिनै दुई क्लब आमनेसामने हुने भएपछि खेलप्रेमीहरूबीच चासो झनै बढेको छ। अर्कोतर्फ, अर्को रोचक खेलमा दुई ब्राजिली क्लब पाल्मेरिया र बोटाफोगो एकअर्काविरुद्ध भिड्नेछन्।

पीएसजी समूह विजेता, बोटाफोगो पनि अन्तिम १६ मा

ख्विचा क्वारत्सखेलिया र अचरफ हकिमीको गोल मद्दतमा पीएसजीले अमेरिकी क्लब सियाटल सन्डर्सलाई मंगलबार राति २–० ले हरायो। यस जितसँगै पीएसजीले समूह ‘बी’ को शीर्षस्थानमा रहँदै नकआउट चरणमा स्थान पक्का गर्‍यो।

हालसम्मको समूह चरणमा पीएसजी, बोटाफोगो र एट्लेटिको म्याड्रिड तीनै टिमले समान ६ अंक प्राप्त गरे पनि गोल अन्तरको आधारमा पीएसजी पहिलो र बोटाफोगो दोस्रो स्थानमा रहे। एट्लेटिको भने दुर्भाग्यपूर्ण रूपमा बाहिरियो।

एट्लेटिको म्याड्रिडले बोटाफोगोलाई १–० ले हराए पनि समूह चरणको समीकरणमा त्यो पर्याप्त साबित भएन। स्पेनी क्लबका लागि एन्टोनियो ग्रिजमनले गोल गरे तापनि टोली नकआउट चरण पुग्न असफल रह्यो।

प्रशिक्षक लुइस एनरिके भन्छन   "अब मात्र यात्रा सुरु भएको हो।"

खेलपछि पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकेले खेलाडीको प्रदर्शनप्रति सन्तुष्टि जनाउँदै भने, “मलाई लाग्छ, प्रतियोगिताको वास्तविक यात्रा अब सुरु हुन्छ। यो सिजन हाम्रो लागि अहिलेसम्म राम्रो रह्यो र क्लब वर्ल्डकपमा पनि त्यसलाई कायम राख्ने लक्ष्य छ।”

“अब हामी हरेक खेललाई एक-एक गरेर लिनेछौं। चुनौती बढ्दै जान्छ, तर टोली तयार छ,” उनले थपे।

अब नजर इन्टर मियामी पीएसजीको भिडन्तमा

लियोनल मेसीका प्रशंसकका लागि अबको सबैभन्दा ठूलो आकर्षण भनेको इन्टर मियामी र पीएसजीबीचको खेल हुनेछ। एकातिर मेसीको नेतृत्वमा रहेको एमएलएस क्लब, अर्कोतिर उनको पूर्व टोली, जसमा उनले अनेकौं उपाधि जितेका थिए।

फिफा क्लब विश्वकपको नकआउट चरण अब झनै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने संकेत देखिएको छ। फुटबलप्रेमीहरूका लागि मेसी बनाम पीएसजी खेल विशेष चर्चाको विषय बन्ने पक्का देखिन्छ।

View : 54

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved