Biratnagar, Morang, Nepal
खेलकुद

बुढिगङ्गा गाउँपालिका खेलकुदमय हुँदै

बुढीगंगामा अन्तर वडा फुटबल प्रतियोगिता सुरु हुँदै

युवामाझ एकता र नेतृत्व विकासमा जोड।
-
अखवारका कुरा
९ असार २०८२, मङ्गलवार

Advertisement

 

बुढीगंगा — बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता असार १३ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाको युवा परिषद्को आयोजनामा हुने प्रतियोगिता बुढीगंगा–६ स्थित सुक्चौर खेल मैदानमा उद्घाटन समारोहसहित सुरु हुनेछ। उद्घाटन कार्यक्रममा स्थानीय युवासहित खेलप्रेमीको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको आयोजक युवा परिषद्का संयोजक क्षितिज थापा मगरले जानकारी दिए।

प्रतियोगिता नक–आउट प्रणालीमा सञ्चालन हुनेछ। पहिलो चरणका खेलहरू असार १३ देखि १६ गतेसम्म सुक्चौर खेलमैदानमा हुनेछन्। त्यसपछि असार १८ र १९ गते सेमिफाइनल खेलहरू बुढीगंगा–५ स्थित कर्मवीर विद्यालयको खेल मैदानमा आयोजना हुनेछ। फाइनल खेल भने असार २१ गते शनिबार पुनः सुक्चौरमै हुनेछ।

गाउँपालिकाका सातवटै वडासहित बुढीगंगा स्कुल टिम गरी कुल आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको पहिलो दिन वडा नम्बर ३ र वडा नम्बर ६ बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि वडा नम्बर ४ र वडा नम्बर ५, वडा नम्बर १ र स्कुल टिम तथा वडा नम्बर २ र वडा नम्बर ७ बीच प्रतिस्पर्धा हुने तालिका तय भएको छ।

युवा परिषद्का संयोजक थापा मगरले खेलकुद कार्यक्रममार्फत युवामाझ नेतृत्व विकास, सामाजिक एकता र खेलप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए। “खेलकुद केवल प्रतिस्पर्धा होइन, यो सामाजिक अभियान हो,” उनले भने, “यस्ता कार्यक्रमले भविष्यका नेतादेखि राष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्‍याउँछ।”

गाउँपालिकाले हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। आयोजकले खेल मैदान व्यवस्थापनदेखि टिम व्यवस्थासम्मको तयारी पूरा भएको जनाएको छ।

View : 606

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved