स्वास्थ्य सुरक्षामा अग्रसर पथरी शनिश्चरे
पथरी शनिश्चरे (मोरङ) — ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित पथरी शनिश्चरे नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको रूपमा घोषणा गरिएको छ।
आइतबार नगरपालिकाको वडा नं. १ स्थित श्री नर्वदेश्वर शिवालय मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उक्त घोषणा गरिएको हो। नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न समारोहमा मोरङ जिल्ला खोप समन्वय समितिका अध्यक्ष अजम्बर राई प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द कटुवाल, स्वास्थ्य कार्यालय मोरङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा नगरका ३० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खोप अभियानमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो। साथै, वडास्तरीय स्वास्थ्य कर्मचारीहरू र वडाध्यक्षहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले गरेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा उपस्थित सबैले खोप सुनिश्चितता र दिगोपनाका लागि प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्दै सहकार्यको प्रतिबद्धता जनाएका थिए।
View : 101
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved