कानुन अध्ययनरत विद्यार्थीहरूको अनुभूति, जिज्ञासा र व्यावहारिक चुनौतीलाई उजागर गर्ने उद्देश्यले विराटनगरमा “कानुनको मर्म, भावना र सवाल” शीर्षकमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, कानुन व्यवसायी तथा न्याय क्षेत्रमा आबद्ध विशिष्ट व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको थियो।
कोशी प्रदेश सरकारको सहकार्यमा होटल स्वागतम, विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती प्रमुख अतिथि रहेका थिए । वस्तीले कानुन शिक्षालाई केवल किताबी ज्ञानको विषय होइन, जीवन उपयोगी र समाज रूपान्तरण गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।
"कानुनको अध्ययनले व्यक्ति भित्र न्याय चेतना, नैतिक दृढता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ," वस्तीले जोड दिए ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका डीन डा. रामप्रशासन ढकाल, जिल्ला न्यायाधीश पारसमणि पोखरेल, तथा पूर्व मुख्य न्यायधिवक्ता चुडामणि आचार्य विशेष अतिथि रहनुभएको थियो। उनीहरूले कानुन शिक्षाको सैद्धान्तिक आधार, सामाजिक सरोकार, नैतिक मूल्य र व्यावसायिक चुनौतीहरूबारे गहिरो धारणा राखे।
विद्यार्थीहरूले कार्यक्रममार्फत आफूहरूले अध्ययन क्रममा भोगिरहेका व्यवहारिक कठिनाइहरू, व्यवस्थापन पक्षका समस्या, तथा भविष्यप्रति रहेको अन्योलबारे स्पष्ट ढंगले प्रश्न उठाए। वक्ताहरूले ती जिज्ञासाहरूमा सन्तोषजनक उत्तर दिँदै कानुनी शिक्षाको प्रभावकारिता अभिवृद्धिका लागि नीति निर्मातादेखि शैक्षिक निकायसम्मको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले यस्ता संवादात्मक छलफलले कानुनप्रतिको बुझाइ अझ गहिरो भएको भन्दै उत्साहजनक प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रम नियमित रूपमा हुनुपर्ने अपेक्षा समेत व्यक्त गरे।
View : 787
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved