Biratnagar, Morang, Nepal
बिदेश

भारत पाकिस्तान तनाव

एलओसीमा तानव : गोलीबारीका बीच सीमावर्ती बासिन्दा त्रस्त

भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै आएको आरोप लगाएको छ। भारतीय सेनाका अनुसार पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीका विभिन्न क्षेत्रमा एकसाथ आक्रमण गरिरहेको छ।
-
अखवारका कुरा
२६ वैशाख २०८२, शुक्रवार

Advertisement

काठमाडौं। भारत र पाकिस्तानबीचको बढ्दो तनावको केन्द्रबिन्दु बनेको नियन्त्रण रेखा (एलओसी) अहिले बारुदको मैदान बनेको छ। भारी गोलीबारीका कारण सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाहरू त्रासको माहोलमा सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।

पछिल्ला दिनमा पुनः सुरु भएको यस संघर्षले स्थानीयहरूलाई १९९९ को कार्गिल युद्धको पीडा स्मरण गराइरहेको छ। घरका छाना छेड्दै गइरहेका गोलीका छर्राहरू, विस्फोटका आवाज र लगातारको आक्रमणले सर्वसाधारणको दिनचर्या अस्तव्यस्त बनेको छ।

विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन्। गोठमा बाँधिएका जनावर  पनि सुरक्षित छैनन्। मानिसहरूको ज्यान मात्र होइन, उनीहरूको सम्पत्ति र बाँच्ने आधारसमेत संकटमा परेको छ।

भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै आएको आरोप लगाएको छ। भारतीय सेनाका अनुसार पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीका विभिन्न क्षेत्रमा एकसाथ आक्रमण गरिरहेको छ।

हवाई आक्रमण मिसाइल त्रास:
मे ७ तारिख बिहान गरिएको हवाई आक्रमणले नियन्त्रण रेखामा थप आगोको आँधी सिर्जना गर्यो। यस आक्रमणमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५९ जना घाइते भएका छन्।

मृतकमध्ये महिलाहरू, बालबालिका र भारतीय सेनाका लान्स नायक दिनेश कुमारको पनि ज्यान गएको छ। यतिमात्र होइन, पाकिस्तानबाट प्रक्षेपित मिसाइल र ड्रोनका टुक्राहरू भारतीय राज्य पञ्जाबका विभिन्न क्षेत्रमा खसेपछि त्यहाँको वातावरण थप आतङ्कित बनेको छ।

भारतको जवाफी कारबाही:
भारतले मे ७ र ८ तारिखका रातिहरूमा पाकिस्तानबाट आएको दर्जनौँ ड्रोन र मिसाइल आक्रमणलाई विफल पारिएको दाबी गरेको छ। यससँगै, मे ८ मा भारतले लाहौरस्थित एक हवाई सुरक्षा प्रणाली ध्वस्त पारेको घोषणा गरेको छ। यद्यपि, पाकिस्तानले यसको पुष्टि गरेको छैन।

सीमावर्ती क्षेत्रमा अब युद्धको चिसो हावासँगै बारुदको गन्ध मिसिएको छ। दुई परमाणु सम्पन्न मुलुकबीचको यो तनावले विश्वलाई पनि सतर्क बनाएको छ। तर, सर्वसाधारणको प्रश्न भने एउटै छ – युद्धको यो आँधीले कहिलेसम्म उनीहरूको शान्ति र सपनाहरूमा प्रहार गरिरहनेछ?

View : 43

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved