स्वास्थ्य बीमा
काठमाडौं ,असार ३२
स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु नजिक नहुँदा अप्ठ्यारोमा परेका नागरिकका लागि सरकारले नजिकको केन्द्रिय सरकारी अस्पतालमै यो सेवा उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो निर्णयबारे जानकारी गराएका हुन्। ‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाइ सम्बोधन गर्दै, नजिक सेवा बिन्दु नभएका ठाउँमा केन्द्रिय सरकारी अस्पतालमै यो सेवा कायम राख्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने।
स्वास्थ्य बीमा बोर्डले केही समयअघि निजी तथा सरकारी अस्पतालहरूबाट प्रथम सेवा बिन्दु हटाएर स्थानीय तहमा केन्द्रित गर्ने निर्णय गरेको थियो। तर, यसले नजिकै सेवा केन्द्र नभएका ठाउँका नागरिकलाई थप समस्या भएको गुनासो बढेपछि मन्त्रालयले हस्तक्षेप गर्दै समाधान निकालेको हो।
अब बोर्डले मन्त्रालयको निर्देशनअनुसार वैकल्पिक व्यवस्था नभएसम्म केन्द्रीय सरकारी अस्पतालहरूबाटै सेवा दिइनेछ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाको पहुँच विस्तार र स्तरीय सेवा सुनिश्चित गर्न प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्दै स्थानीय तहमा नयाँ सेवा केन्द्रहरू स्थापना गरिने बताएका छन्। ‘स्वास्थ्य बीमालाई व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तीमा एउटा सेवा केन्द्र स्थापना गर्ने नीति अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरेर नागरिकलाई घरदैलोमै सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ उनले उल्लेख गरेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रयासमा मन्त्रालय निरन्तर लागिपरेको भन्दै उनले यस विषयमा आएका सुझावलाई सधैं स्वागत गर्ने समेत बताएका छन्।
View : 179
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved