कोशी प्रदेशमा नयाँ खेलकुद पुर्वाधार
विराटनगर । कोशी प्रदेशमा खेलकुदको स्तर उकास्ने लक्ष्यसहित विराटनगर-३, पुष्पमार्गमा पाँच करोड रुपैयाँको लगानीमा निर्माण गरिएको विराट स्पोर्ट्स जोन शनिबार औपचारिक रूपमा सञ्चालनमा आएको छ।
उद्घाटन गर्दै विराटनगर महानगरका मेयर नागेश कोइरालाले शारीरिक स्वास्थ्यमा खेलकुदको महत्वबारे जोड दिए। मेयर कोइरालाले भने, “मोबाइल र डिजिटल उपकरणमा केन्द्रित हुँदा बालबालिकामा खेलप्रतिको रुचि घट्दै गएको छ। यस्ता स्पोर्ट्स जोनहरूले खेलकुदप्रति आकर्षण जगाउँछन्।”
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बाँनिया र पूर्वखेलाडी वसन्त अर्यालले स्पोट्र्स जोनले खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
आयोजक संस्थाका अध्यक्ष हरि बजगाईंले भविष्यमा स्पोट्र्स जोनलाई थप आधुनिक र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्दै बताए कि दीर्घकालीन योजनाअन्तर्गत खेलकुद व्यवसायीकरण, प्रतिभा विकास र सुरक्षित खेल वातावरण सुनिश्चित गरिनेछ।
स्पोर्ट्स जोनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट एकेडेमी हो। बहु-पिच सुविधा, आधुनिक उपकरण र वैज्ञानिक तालिम संरचनासहित निर्माण गरिएको यो एकेडेमीमा राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षक टोलीले प्रशिक्षण दिनेछ। भर्ना शुल्क ५ हजार र मासिक शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। प्रत्येक खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको जीवन बीमाको व्यवस्था गरिएको छ।
साहसिक खेल प्रेमीका लागि पहिलोपटक गो-कार्ट सेवा पनि सुरु गरिएको छ। सुरक्षित ट्र्याक, आधुनिक सुरक्षा मापदण्ड र सबै उमेर समूहका खेलाडीका लागि रोमाञ्चक अनुभव यसका मुख्य आकर्षण हुन्।
त्यसैगरी, फुटसल, क्रीकसल (क्रिकेट-फुटसल हाइब्रिड), स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिसजस्ता खेलहरू नियमित सञ्चालनमा आएका छन्। महिला खेलाडीको प्रोत्साहनका लागि सुरुमा क्रिकेट र फुटबलमा भर्ना हुने ५०-५० जना महिला खेलाडीको भर्ना तथा मासिक शुल्क पूर्ण रूपमा निःशुल्क गरिने घोषणा गरिएको छ।
स्पोर्टस जोनभित्र स्वास्थ्य अनुकूल भोजन र विश्रामका लागि क्याफे सुविधा पनि उपलब्ध छ। दीर्घकालीन योजनाअन्तर्गत छिट्टै स्वीमिङ पुल, इन्डोर गेमिङ जोन र अन्य आधुनिक पूर्वाधार थप गर्ने तयारी गरिएको छ।
उद्घाटन कार्यक्रममा समाजसेवी रमेश कोइराला, विराटनगर-३ का सदस्य सुरज न्यौपाने, आयोजक संस्थाका सचिव नवराज काफ्ले, रेखा उप्रेती र क्रिकेट प्रशिक्षक सञ्जन रेग्मीले मन्तव्य व्यक्त गरेका थिए।
विराट स्पोर्टस जोन अब कोशी प्रदेशकै आधुनिक खेलकुद हबका रूपमा स्थापित हुने लक्ष्यसहित सञ्चालनमा आएको आयोजक संस्थाले जनाएको छ।
View : 179
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved