सदैव जनताको सेवामा विराट मेडिकल कलेज
विराटनगर । सामाजिक सञ्जाल बन्द, शासकीय अव्यवस्थाविरुद्धको प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीचमा पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्सहरूले बिरामीको सेवा निरन्तरता दिएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका-२ मा अवस्थित यस अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु लगायतका स्थानबाट आउने नर्सहरूले यात्रामा कठिनाइ भोग्नुपरेको छ । अस्पताल प्रशासनका अनुसार कर्फ्यूको समयमा नर्सहरूले परिचयपत्र देखाउँदा समेत बाटोमा रोकिने समस्या भएको थियो ।
अस्पतालको आईसीयू लेभल-३ की नर्सिङ इन्चार्ज माधुरी राईका अनुसार, “हिजो मात्रै एक स्वास्थ्यकर्मीलाई अस्पतालको पोशाक र परिचयपत्र देखाउँदा पनि बाटोबाट फर्काइयो ।” उनले सुरक्षाकर्मीहरूले स्वास्थ्यकर्मीलाई सहज आवतजावत गर्न नदिएको गुनासो गरिन् ।
नर्सिङ स्टाफ रिया खड्काले तरहराबाट अस्पताल आउन दैनिक समस्या भोग्नुपरेको बताइन् । उनले भनिन्, “हरेक दिन यातायातमा अप्ठ्यारो भइरहेको थियो ।”
विराट मेडिकलमा कार्यरत ५२० जना नर्समध्ये धेरैजना टाढाबाट आउने गर्छन् । नर्सिङ सुपरिन्टेन्डेन्ट आयुष्मा शाक्यले बिरामीको चाप बढी भएको र नर्सको संख्या कम हुँदा व्यवस्थापनमा कठिनाइ भए पनि सेवामा कुनै रोकावट हुन नदिएको बताइन् ।
“एक जना पनि स्वास्थ्यकर्मी कम भएमा बिरामीको सेवामा समस्या हुन्छ,” राईले भनिन् । अस्पतालले टाढाबाट आउने स्वास्थ्यकर्मीहरूको सुविधाका लागि बसको व्यवस्था गरेपछि केही हदसम्म समस्या समाधान भएको उनले जानकारी दिइन् ।
राईले थपिन्, “मनमा डर भए पनि आफ्नो काम र कर्तव्य निभाउन पाउँदा खुशी लाग्छ । हामी जस्तोसुकै परिस्थितिका लागि पनि सधैं तयारी अवस्थामा हुन्छौं ।” उनले कोरोना महामारीको कठिन समयमा समेत स्वास्थ्यकर्मीले निरन्तर सेवा दिएको उल्लेख गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थामा पनि बिरामी सेवामा अडान रहेको बताइन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा र कर्फ्यू आदेश हटाएको छ । शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएपछि उक्त निर्णय लिइएको प्रशासनले जनाएको छ ।
View : 146
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved