विराटनगर – विराटनगर जेसीजको जेसीज सप्ताह–२०२५ को समापन समारोह भव्यरूपमा सम्पन्न भएको छ। सप्ताहभर विभिन्न सामाजिक, स्वास्थ्य, युवा र शैक्षिक कार्यक्रमहरू आयोजना गरिएका थिए।
यसअन्तर्गत फुट्सल प्रतियोगिता, दन्त परीक्षण शिविर, रिफ्लेक्सन ज्याकेट वितरण, चित्रकला प्रतियोगिता, कौशी खेती तालिम, स्टेशनरी वितरण तथा जेसीज रात्रि कार्यक्रम सफलतापूर्वक सञ्चालन भएका थिए।
यस अवसरमा जेसीज सप्ताहका मुख्य कार्यक्रम संयोजक राजु कुमार (आर.के.) मण्डललाई उत्कृष्ट कार्यक्रम संयोजकको रूपमा “निभा अवार्ड” प्रदान गरिएको छ।
कार्यक्रम संयोजक मण्डलले हरेक कार्यक्रमको योजना, संयोजन र व्यवस्थापनमा उत्कृष्टता देखाउँदै कार्यक्रमलाई सफल बनाएका थिए।
कार्यक्रम संयोजकहरु सनराइज चौधरी, बिनु बान्तवा राई, पंकज मेहेता, रोशनी प्रधान, विकास राजवंशी, आकृती रानी फुयल लगायतले पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।
समारोहमा स्वास्थ्य सेवा क्षेत्रमा योगदान पुर्याएकी सोइना शर्मालाई सम्मान गरिएको थियो। शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज सञ्चालन गर्दै स्वास्थ्य सेवा नाफा भन्दा मानवीय दृष्टिकोणबाट अगाडि बढाउँदै आउनुभएको छ।
स्वास्थ्य व्यवस्थापन, सेवा विस्तार र जनहितका गतिविधिहरूमा सक्रिय रहँदै समाजमा प्रेरणादायी प्रभाव पारेकी शर्माको वक्ताहरूले प्रशंसा गरेका थिए।
कार्यक्रममा पत्रकार सुशीला पाठकलाई पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएकोमा सम्मान प्रदान गरिएको छ। मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी पाठक हाल नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष तथा कोशी प्रदेश महासंघकी निवर्तमान सदस्य पनि हुनुहुन्छ। उहाँले दर्जनौँ प्रतिष्ठित पुरस्कार प्राप्त गरी समाजमा आफ्नो योगदान प्रमाणित गर्नुभएको छ।
कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी, नेपाल जेसीजकि राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराई घिमिरे, तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने लगायतको उपस्थिती रहेको थियो।
समारोहमा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि मेयर नागेश कोइरालाले आफ्नो इजरायल भ्रमणको अनुभव सुनाउँदै, घरको सानो जग्गा वा छतमा उत्पादनशील कौशी खेती गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कौशी खेतीले व्यक्तिगत पोषण मात्र नभई, परिवार र समुदायमा स्वास्थ्य र आत्मनिर्भरता बढाउन मद्दत गर्छ। घरमै उत्पादन गर्दा बजारमा निर्भरता कम हुन्छ र ताजा, विषमुक्त तरकारी सजिलै उपलब्ध हुन्छ।”
कार्यक्रमको समापनमा मेयर कोइरालाले सामाजिक उत्तरदायित्व र सेवाभावको महत्वमा जोड दिनुभयो।
अध्यक्ष प्रीतेशराज दाहालले कार्यक्रमको उद्देश्य र सफलताबारे प्रकाश पार्दै भन्नुभयो, “जेसीज सप्ताहले समाजिक जागरण र युवा सशक्तीकरणको सन्देश फैलाउने मात्र होइन, सामाजिक उत्तरदायित्व र नेतृत्वको अभ्यासका लागि उत्कृष्ट प्लेटफर्म प्रदान गरेको छ। यस वर्षका हरेक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको छ।”
मुख्य कार्यक्रम संयोजक कविराज दाहालले कार्यक्रम संयोजनमा टिमको प्रतिबद्धता र मेहनतको महत्वलाई जोड्दै भन्नुभयो, “जेसीज सप्ताह सफल बनाउन सम्पूर्ण संयोजक र टिमले निष्ठा र परिश्रम देखाएका छन्। हरेक कार्यक्रमले युवा नेतृत्व र समाजसेवाको सन्देश दिन सक्षम भएकोमा गर्व लाग्छ।”
समारोहमा विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन भए र कार्यक्रम संयोजनमा सक्रिय भूमिका निभाउने टिमको योगदानले जेसीज सप्ताहलाई नयाँ उचाइमा पुर्याएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो।
View : 81
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved