आयो दशैँ
काठमाडौँ — महान् हिन्दू पर्व बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन शुक्रबार नौ दुर्गामध्येकी कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ ।
शास्त्रीय परम्पराअनुसार आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको विशेष आराधना गर्ने चलन छ । कुष्मा भन्ने शब्दले आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई जनाउँछ । विश्वास अनुसार कुष्माण्डा देवीले शरणमा आएका भक्तको दुःख–कष्ट निवारण गरी सुख, समृद्धि र ऐश्वर्य प्रदान गर्छिन् ।
धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशती’मा कुष्माण्डालाई त्रिविध तापयुक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने शक्तिको रूपमा उल्लेख गरिएको छ । पुराणमा उनी सुराभरिएका घडा र रगतयुक्त पात्र धारण गर्ने देवीका रूपमा वर्णित छिन् ।
यसअघि घटस्थापनाको दिन सोमबार पहिलो देवी शैलपुत्रीको पूजाआराधना गरिएको थियो । मंगलबार ब्रह्मचारिणी र बुधबार चन्द्रघण्टा देवीको पूजा सम्पन्न भएको हो ।
काठमाडौँ उपत्यकामा गुह्येश्वरी, जयवागेश्वरी, कालिकास्थान, नक्साल भगवतीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । उपत्यकाबाहिर पनि मनकामना, पालाञ्चोक भगवती, बागलुङ कालिका, विन्ध्यवासिनी, गढीमाई, छिन्नमस्तालगायत शक्तिपीठमा भक्तजन पूजाआराधनामा सहभागी भएका छन् ।
नवरात्रका नौ दिनसम्म घटस्थापनाको स्थलमा दुर्गा सप्तशतीलगायत देवी स्तोत्रको पाठ हुने परम्परा छ । धार्मिक विश्वासअनुसार देवीको भक्तिपूर्वक पूजा गर्दा शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुने मान्यता छ ।
दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र आज चौथो दिन कुष्माण्डा देवीको पूजा हुन्छ । शुक्रबारपछि क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको आराधना हुँदै जानेछ ।
View : 29
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved