एसईई नतिजाको पर्खाइ
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण कार्य अहिले अन्तिम चरणमा पुगेको छ।
सामान्यतः असारको पहिलो सातामै नतिजा प्रकाशन गरिँदै आएको भए पनि यसपटक केही ढिलो हुने भएको हो। चैत २० गतेदेखि देशभरका शिक्षकहरूले गरेको २९ दिनसम्मको आन्दोलनका कारण उत्तरपुस्तिका मूल्याङ्कन प्रक्रिया प्रभावित भएपछि नतिजा प्रकाशन मिति पनि पछि सरेको बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार परीक्षणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। “यदि सबै प्रक्रिया समयमै सम्पन्न भयो भने नतिजा असार दोस्रो साताको अन्त्यतिर वा तेस्रो साताको सुरुवातमा सार्वजनिक हुनेछ,” भट्टराईले बताए।
गत चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ जना सहभागी भएका थिए।
परीक्षा बोर्डले नतिजा प्रकाशित गर्न आवश्यक प्राविधिक तयारीलाई पनि समानान्तर रूपमा अघि बढाइरहेको जनाएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनपछि वेबसाइट तथा एसएमएसमार्फत सार्वजनिक गरिनेछ।
View : 157
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved