जेनजी आन्दोलन पछिको बाटो
जेन–जी आन्दोलनले जनताको शक्ति र चाहना स्पष्ट देखाएको छ। आन्दोलन सफल भयो, अन्तरिम सरकार गठन भयो, राजनीतिक परिवर्तन सम्भव भयो। तर यत्ति भएर मात्र मुलुकले स्थायित्व र सुशासन पाउँछ भन्ने छैन।
सडकमा प्रहरीको उपस्थिति न्यून हुँदा विराटनगरसहितका शहरमा मनोमानी देखिन थालेको छ। सवारी नियम पालना नगर्ने, “अब हामी नै सबै थोक” भन्ने मानसिकता फैलनु आन्दोलनको उद्देश्यसँग पूर्ण विपरीत छ। परिवर्तनले नागरिकलाई अझ अनुशासित, जिम्मेवार र सचेत बनाउनुपर्ने हो, कानूनविहीनतामा धकेल्ने होइन।
अर्को चिन्ता सामाजिक सुरक्षासँग जोडिन्छ। प्रहरी कमजोर हुँदा चोरी, लुटपाट र अपराध बढ्ने सम्भावना उच्च हुन्छ। यस अवस्थामा टोल–समाज, समुदाय र नागरिकबीचको सहकार्य नै बलियो सुरक्षाको आधार बन्न सक्छ। आन्दोलनको उपलब्धि सुरक्षित राख्ने जिम्मेवारी राज्यसहित नागरिककै काँधमा आएको छ।
जेन–जी आन्दोलनले नयाँ ढोका खोलेको छ। तर यो ढोका भविष्यमा अवसरको प्रतीक बन्ने कि अराजकताको कारण, त्यो नागरिककै आचरणले तय गर्नेछ। आन्दोलनले जितेको उपलब्धिलाई दीर्घकालीन बनाउन अनुशासन, सद्भाव र पुनर्निर्माणतर्फ सबैले उस्तै जिम्मेवारीपूर्वक अघि बढ्नैपर्छ।
View : 135
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved