मजदुर दिवस
विराटनगर
आज मजदुर दिवसको अवसरमा विराटनगरको ट्राफिक चौक ,भुमिप्रशासन चौक र बरगाछी क्षेत्रका श्रमिकहरूको जीवनको कठिन वास्तविकता प्रकट भएको छ। जहाँ उमेश रामजस्ता ३५ वर्षदेखि जुत्ता सिलाउने श्रमिक र दैनिक मजदुरी गर्दै घरको भरण–पोषण गर्ने व्यक्ति कामको पर्खाइमा छन्, त्यहाँ मजदुर दिवसका ऐतिहासिक कार्यक्रमहरूको कुनै विशेष अर्थ छैन।
ट्राफिक चौकमा बस्ने उमेश राम, जो सधैं आफ्नो सानो कार्यस्थलमा बसिरहन्छन्, आज पनि कामको चिन्तामा छन्। उनले भने, "मजदुर दिवस भनेको हामी जस्ता श्रमिकको लागि कुनै विशेष कुरा होइन। हामीलाई त यो चिन्ता छ कि आज ग्राहक आउलान् कि आउदैन्न, काम पाइन्छ कि पाइँदैन।"
त्यस्तै, भुमिप्रशासन चौक र बरगाछीमा रहेका अन्य मजदुरहरू पनि आजको दिन कामको पर्खाइमा थिए। कुनै पनि विश्राम नपाउने यी श्रमिकहरूका लागि मजदुरी भनेको मात्रै तिनका लागि एउटा जीवन गुजार्ने उपाय हो। "आज मजदुर दिवस हो, तर हामीलाई यो दिनको खास अर्थ छैन, काम पाउँछौं कि पाउँदैनौं भन्ने चिन्ता छ," बरगाछी क्षेत्रमा काम गर्ने एक श्रमिकले भने।
यी श्रमिकहरूको जीवन यथार्थमा संघर्ष र पीडाले भरिएको छ। उमेश राम र अन्य मजदुरहरूका लागि मजदुर दिवसका कार्यक्रम केवल शब्द मात्र हुन्, जसले उनीहरूको दैनिकी र संघर्षको सामना गर्न मद्दत गरेका छैन्न । उनीहरूलाई चाहिन्छ—कामको अवसर, उचित पारिश्रमिक र सामाजिक सुरक्षा जसले उनीहरूको जीवनलाई सम्मानजनक बनाओस्।
यो दिन, जब संसारभर मजदुरको सम्मानको कुरा भइरहेको छ, यी श्रमिकहरूको जीवन भने अझै बेतलबी र अनिश्चिततामा परिरहेको छ। "भाषण र नारामा होइन, व्यवहारमा श्रमिकको सम्मान हो," आजका दिन यी मजदुरहरूको आवाजले अझै गम्भीर प्रश्न उठाएको छ।
View : 75
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved