काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगले हालै सम्पन्न गरेको निर्वाचनलाई अहिलेसम्मकै उत्कृष्ट निर्वाचनको रूपमा मूल्याङ्कन गरिएको बताएका छन् ।
आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी, दुई जना आयुक्तहरू, सचिवसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाएको उनले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार उक्त अवसरमा निर्वाचन आयोगले निर्वाचनलाई सुशासनका हिसाबले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको दाबी गरेको छ ।
उनले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीज्यू, दुई जना माननीय आयुक्तज्यूहरू, सचिवज्यू र समग्र टोली यहाँ आउनु भयो र निर्वाचन सम्पन्न भएको प्रतिवेदन सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई बुझाउनुभयो। यो निर्वाचन पहिलाका निर्वाचनभन्दा धेरै राम्रो भयो भन्ने मूल्याङ्कन गरिएको छ।’
उनका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गर्दै यस निर्वाचनलाई इतिहासमा सुनौलो अक्षरले लेखिने उल्लेख गरेकी छन् ।
‘निर्वाचन सुशासनका हिसाबले अहिलेसम्म कै सबैभन्दा राम्रो निर्वाचन भएको हामीले महशुस गर्यौं र प्रधानमन्त्री ज्यूले र प्रमुख आयुक्त, माननीय आयुक्त ज्यूहरु लगायत निर्वाचन आयोगका समग्र टिमलाई धेरै आभार प्रकट गर्नुभएको छ । यो इतिहासमा सुनौलो अक्षरले नाम लेखिनेछ । उहाँले गरेको कामलाई इतिहासले उच्च मूल्याङक गर्नेछ भन्ने सन्देश दिनुभएको छ,’ उनले भने ।
View : 73
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved