काठमाडौं, श्रावण १
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबदेखि उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित र न्यायपूर्ण बनाउन कार्यविधि लागू गर्ने भएको छ। बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा प्रवक्ता मनिष झाले अबको उम्मेदवार छनोट कोटको खल्तीबाट नाम निकालेर होइन, सबैलाई न्याय हुने गरी कार्यविधिअनुसार गरिने बताए।
झाले भने, “अब उम्मेदवार चयन गर्दा पनि स्पष्ट मापदण्ड र प्रक्रिया पालना हुन्छ। हामी परम्परागत शैलीलाई तोड्न खोजिरहेका छौं।” उनका अनुसार पार्टीले तयार पारेको कार्यविधि आगामी निर्वाचनमा लागू गरिनेछ।
यस्तै, रास्वपाले असार ७ गतेदेखि सुरु गरेको नागरिक ऐक्यबद्धता हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजार ६१८ जनाको हस्ताक्षर संकलन भइसकेको जनाएको छ।
हस्ताक्षर अभियानका संयोजक दीपक बोहराका अनुसार अभियान कम्तीमा १०० दिनसम्म चल्नेछ। प्रदेश, जिल्ला र पालिकास्तरीय समितिहरूको नेतृत्वमा भइरहेको यो अभियान साउन ५ गतेदेखि वडा समितिमार्फत घरदैलोमा पुर्याइनेछ।
पार्टीका अनुसार अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दुहरू (काँकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र सार्वजनिक आवागमन बढी हुने स्थानहरूमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिनेछ।
रास्वपाले आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद बढाउँदै संस्थागत रूपमा निर्णयहरू गर्ने तयारी गरेको बताएको छ।
View : 293
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved