Biratnagar, Morang, Nepal
देश

प्रधानमन्त्री ओलीद्वारा एलिना र समीक्षालाई ‘साहसी छोरी’ को संज्ञा

-
अखवारका कुरा
१३ असार २०८२, शनिवार

Advertisement


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीलाई ‘साहसी छोरी’ को संज्ञा दिँदै उनीहरूले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा अशिष्ट व्यवहार गर्नेहरूविरुद्ध देखाएको प्रतिवादको खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले दुवै गायिकाको कदमको पूर्ण समर्थन गर्दै समाजलाई विवेकले डोर्याउनुपर्नेमा जोड दिएका छन्।


‘गाली गर्नेलाई सार्वजनिक गरिदिने तरिका सही लाग्यो’: प्रधानमन्त्री
पछिल्लो समय एलिना र समीक्षाले सामाजिक संजालमा  जथाभावी गाली र दुर्व्यवहार गर्ने व्यक्तिका नाम र सामाजिक सञ्जाल पोस्टहरू सार्वजनिक गरेपछि उनीहरूको यो साहसिक कदमको चौतर्फी चर्चा भइरहेको छ। लामो समयदेखि महिला कलाकारले सार्वजनिक दुर्व्यवहारलाई मौन स्वीकार्नुपर्ने परम्परालाई तोड्दै उनीहरूले आत्मसम्मानका साथ जवाफ फर्काएका हुन्।
प्रधानमन्त्री ओलीले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, “आफू राम्रो देखिन अरूको दोष खोज्ने, जस्तो कुरामा पनि विरोध गर्ने, गाली गर्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनु पर्छ। समाजलाई उत्तेजनाले होइन, विवेकले गाइड गर्नुपर्छ। गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।”
‘आत्मसम्मानको आवाज’ र राष्ट्रिय ध्यान
सार्वजनिक मञ्चमा प्रस्तुति दिने महिला कलाकारप्रति दुर्व्यवहार र गाली प्रकरण नेपाली समाजका लागि नौलो विषय होइन। तर, यसपटक एलिना र समीक्षाले गाली गर्नेहरूको प्रयोगकर्ता नाम र स्क्रिनसट नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि यसले सबैको  ध्यान तानेको छ।
उनीहरूको यो कदमलाई धेरैले ‘आत्मसम्मानको आवाज’ भनेर प्रशंसा गरेका छन्। कलाकारमाथि हुने साइबर दुर्व्यवहार विरुद्ध कानूनी चेतना फैलाउने दृष्टिकोणले समेत यसको व्यापक स्वागत भइरहेको छ। प्रधानमन्त्रीको समर्थनपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ। विभिन्न कलाकार, सामाजिक अभियन्ता र दर्शकले एलिना र समीक्षाको आत्मबल र स्पष्टताको प्रशंसा गर्दै यस्ता गाली प्रवृत्तिको अन्त्यको पक्षमा सशक्त आवाज उठाइरहेका छन्।

यस घटनाले नेपाली समाजमा सार्वजनिक व्यक्तित्व, विशेषगरी महिला कलाकारमाथि हुने दुर्व्यवहार र साइबर बुलिङका विषयमा गम्भीर बहसको ढोका खोलेको छ । 

View : 222

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved