शिक्षा मन्त्रीको राजिनामा
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य समस्यालाई कारण देखाउदै पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार अपराह्न करिब ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।
मन्त्री भट्टराईको सचिवालयका अनुसार पछिल्ला दिनमा स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री भट्टराईले जिम्मेवारी बहन गर्न कठिन भएको भन्दै राजीनामा दिएकी हुन्।
यता, भट्टराईको राजीनामा शिक्षक आन्दोलन उत्कर्षमा पुगिरहेका बेला आएको छ। नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्। आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गरिरहेका छन्।
शिक्षामन्त्रीको राजीनामा यस संवेदनशील घडीमा आएकोले शिक्षा क्षेत्र थप अन्योलतर्फ जान सक्ने चिन्ता शिक्षाविद् तथा सरोकारवालाहरूले व्यक्त गरेका छन्।
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास जारी रहेको बताउँदै आएको छ। यद्यपि, शिक्षामन्त्रीको राजीनामाले आन्दोलनको पृष्ठभूमिमा नयाँ राजनीतिक तरंग ल्याउने सम्भावना देखिएको छ।
View : 329
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved