जेसीज सप्ताह
विराटनगर । पत्रकार अनिल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले विराटनगर जेसीजलाई पराजित गर्दै मैत्रीपूर्ण फुट्सल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार बिहान विराटनगरमा सम्पन्न एकदिवसीय खेलमा पत्रकार महासङ्घ मोरङले ४–१ को फराकिलो अन्तरले विजयी भएको हो।
खेलको सुरुवातमै विराटनगर जेसीजले अग्रता लिएको थियो। तर, त्यसपछिका केही मिनेटमै पत्रकार अनिल श्रेष्ठले बराबरी गोल गर्दै खेलमा फर्किए। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा नेपाल पत्रकार महासङ्घले आक्रमक खेल प्रस्तुत गर्दै थप तीन गोल गर्न सफल भयो। तीमध्ये दुई गोल पनि अनिल श्रेष्ठकै नाममा रह्यो, जसले उनको ह्याट्रिक पूरा भयो। बाँकी एक गोल पत्रकार हरि अधिकारीले गरे।
श्रेष्ठको ह्याट्रिक र उत्कृष्ट प्रदर्शनका कारण उनलाई खेलको म्यान अफ द म्याच घोषित गरिएको थियो।
यो खेल विराटनगर जेसीजले आयोजना गरेको जेसीज सप्ताहको पहिलो दिनको आकर्षणको रूपमा राखिएको थियो। जेसीज सप्ताहका क्रममा हप्ताभर विभिन्न सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रमका वरिष्ठ कार्यकारिणि उपाध्यक्ष तथा मुख्य कार्यक्रम संयोजक कविराज दाहालले जेसीज सप्ताहको पहिलो दिनमै यस्ता खेलकुद कार्यक्रमले आपसी मित्रता र सहकार्य बलियो बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार, “खेलकुदले नेतृत्व र टोली भावना दुवैलाई सुदृढ बनाउँछ, जसले समाजमा सकारात्मक ऊर्जा फैलाउँछ।”
त्यसैगरी, विराटनगर जेसीजका अध्यक्ष प्रीतेश राज दाहालले जेसीज सप्ताहलाई उत्साहपूर्वक र सहभागितापूर्ण बनाउन सबैको सहयोग र उत्साहजनक उपस्थिति रहेकोमा खुशी व्यक्त गरे। उनले भने, “हामीले आयोजना गरेका प्रत्येक कार्यक्रम समाज परिवर्तन र युवा क्षमताको विकासतर्फ केन्द्रित छन्। खेलकुदमार्फत पनि हामी एकताको सन्देश दिन चाहन्छौं।”
उक्त कार्यक्रममा पत्रकार महासघ मोरङ अध्यक्ष सुशीला पाठक , नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी , प्रेस युनियन कोशीका अध्यक्ष मीन कुमार नवोदित लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संयोजन सनराइज चौधरीले गरेका थिए ।
View : 213
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved