Biratnagar, Morang, Nepal
राजनीति

शेखर गुट भेला

विराटनगरमा शेखर गुटको भेला: ‘रिभाईप कांग्रेस’ अभियानमा जोड, नेतृत्वप्रति गुनासो

भेलामा कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य र विभिन्न जिल्लाका सभापतिहरूको उल्लेखनीय सहभागिता रह्यो। नेताहरूले पार्टीलाई ‘रि-भिजिट बिपी, रिभाईप कांग्रेस’ भन्ने नारामा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
-
अखवारका कुरा
२४ जेठ २०८२, शनिवार

Advertisement


विराटनगर, जेठ २४ 
नेपाली कांग्रेसभित्रको आन्तरिक विमर्श फेरि एकपटक तीव्र बनेको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा डा. शेखर कोइराला निकट समूहले आयोजना गरेको प्रदेशस्तरीय भेलामा पार्टीको हालको अवस्था र आगामी दिशा–निर्देशनबारे गम्भीर छलफल भएको छ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य र विभिन्न जिल्लाका सभापतिहरूको उल्लेखनीय सहभागिता रह्यो। नेताहरूले पार्टीलाई ‘रि-भिजिट बिपी, रिभाईप कांग्रेस’ भन्ने नारामा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेता गुरुराज घिमिरेले १५औँ महाधिवेशन समयमै हुनुपर्ने मागसहित पार्टी नेतृत्वलाई दबाब दिने निर्णयसमेत भेलाले गरेको जानकारी दिए। उनका अनुसार, "तीनै तहका सरकारमा कांग्रेसको भूमिका, संगठनको अवस्था, चुनौतीहरू र समाधानका उपायहरूबारे व्यापक छलफल गरिएको छ।"

विराटनगर महानगरपालिका सभापति दीपक चापागाईंले हाल पार्टीभित्र एकपक्षीय निर्णय भइरहेकाले गम्भीर असन्तोष उत्पन्न भएको बताए। "पार्टीभित्र सबैलाई समेटेर लैजाने वातावरण नबन्दा असहज स्थिति बनिरहेको छ," उनले भने।

भेलामा प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ, केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको सक्रिय सहभागिता थियो। सहभागी नेताहरूले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यास र पारदर्शी निर्णय प्रक्रियाको खाँचो औँल्याए।

नेता घिमिरेले स्पष्ट पारे, "यो कुनै गुनासोमात्र होइन, संगठनलाई सुदृढ गर्न आवश्यक सुझावहरू राखिएको छलफल हो।" उनका अनुसार पार्टीलाई सशक्त बनाउन सहकार्य, संवाद र समावेशी दृष्टिकोण अबको प्राथमिकता हुनुपर्छ।

भेलाले कांग्रेसको भविष्यप्रति चिन्ता मात्रै होइन, समाधानको बाटो पनि औंल्याउने प्रयास गरेको देखिएको छ।

View : 251

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved