विराटनगर— विराटनगरमा गुडिरहेको एक टिपरमा आज दिउँसो अचानक आगलागी भएको छ। विराटनगर महानगरपालिका–१९ स्थित मिलन चोकमा दिउँसो करिब २ः३० बजे प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको मोरङ प्रहरीले जानकारी दिएको छ।
सुनसरीको इनरुवा नगरपालिका–३ निवासी ३० वर्षीय साजन सरदारले चलाइरहेको सो टिपर विराटचोकबाट बालुवा बोकेर बर्जुतर्फ जाँदै गर्दा बीच बाटैमा एक्कासि आगलागी भएको हो।
आगो लाग्नाको कारण यकिन नभए पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट सर्किटले आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ। सूचना पाउँदै दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट टिपरको अगाडिको भाग जलेर ठूलो क्षति पुगेको छ भने मानवीय क्षति भने हुनबाट जोगिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
View : 99
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved