तरुण दलमा अलमल
विराटनगर — नेपाली कांग्रेस मोरङले नेपाल तरुण दलको जिल्ला अधिवेशनसम्बन्धी विवाद सात दिनभित्र समाधान गर्ने निर्णय गरेसँगै आन्दोलनरत तरुण नेताहरुले ४२ दिनदेखि गरिएको तालाबन्दी मंगलबार खोलेका छन्।
कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले सात दिनभित्र पूर्णकालीन सदस्यता वितरण र अधिवेशन मार्गचित्र तय गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनरत तरुण नेताहरु कार्यालयको तालाबन्दी खोल्न तयार भएका हुन्।
तालाबन्दी कांग्रेसका कार्यवाहक सभापति माझी, सचिव मोदराज घिमिरे र ललित श्रेष्ठ, सहसचिव सञ्जय मण्डल र भुवनेश्वर मण्डल तथा कोषाध्यक्ष रञ्जु अधिकारीसँग आन्दोलनरत पक्षबीच सहमति भएपछि खोलिएको हो।
तरुण दल मोरङका अध्यक्ष संजय थापाले केन्द्रीय निर्देशनविपरीत पूर्णकालीन सदस्यता वितरण नगरेको, जिल्ला अधिवेशनसमेत नगरेको र संगठनलाई अनिर्णयमा राखेको भन्दै जिल्ला भरिका तरुण नेताहरूले कार्यालयमा तालाबन्दी गरेका थिए।
यसअघि अध्यक्ष थापाका पक्षधरले ताला फुटाएपछि पुनः तालाबन्दी गर्दै आन्दोलनरत नेताहरूले तीव्र विरोध गरेका थिए। कांग्रेस मोरङले अब सात दिनभित्र सबै प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको छ।
View : 210
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved