विराटनगर - ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल मोरङले दुईजना व्यक्तिलाई सम्मान गरेको छ ।
मानव अधिकारका क्षेत्रमा दुई दशकदेखि योगदान पु¥याउँदै आएका गैसस महासंघ मोरङका सचिव नवराज निरौला र मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीलाई विशेष समारोह आयोजना गरेर सम्मान गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिले विश्वबाटै मानवता हराउँदै गएको प्रसंग उठाए । मानवीय संवेदना कमजोर हुँदै गएको बताउँदै मेयर कोइरालाले सबै मिलेर मानवतालाई जागृत गराउनु आवश्यक रहेको औंल्याए ।
‘जन्मिसकेपछि एउटा व्यक्तिले खान पाउनु, लगाउन पाउनु, रोजगारी पाउनु जस्ता विषय पनि मानवअधिकार भित्र पर्दछन्,’ उनले भने, ‘मानवअधिकारको रक्षामा राज्य मात्र होइन, समाज पनि समान साझेदार हो । हामीले घर–आँगन, विद्यालय, कार्यस्थल, प्रशासन र राजनीतिको भाषामा मानवअधिकार बसाल्नै पर्छ । हरेक निर्णयमा नागरिकको हित केन्द्रमा राख्नै पर्छ । र हामीलाई थाहा छ, जब नागरिकको मर्यादामा चोट पुग्छ, तब लोकतन्त्र कमजोर पर्छ । जब मानवअधिकार सुदृढ हुन्छ, तब राष्ट्र बलियो बन्छ ।’
सबै मिलेर विराटनगरलाई मानवअधिकार–मैत्री शहरको उदाहरण बनाउन सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिए । उनले मानव अधिकार दिवसको अवसरमा मानव अधिकार सञ्जालले गर्ने कार्यक्रममा विराटनगर महानगरपालिकाले विगत लामो समयदेखि सहकार्य गर्दै आएको स्मरण गदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगर, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडाल, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मञ्जिला उपाध्याय, गैसस महासंघ कोशी प्रदेशकी अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
View : 41
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved