कोशी प्रदेश खेलकुद विकास बोर्ड
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पद रिक्त भएसँगै नयाँ नियुक्तिको लागि प्रदेशको खेलकुद वृत्तमा व्यापक चासो बढेको छ ।
पूर्व सदस्य सचिव पर्शुराम बस्नेत ‘कृष्ण’को कार्यकाल सकिएपछि रिक्त रहेको यस पदमा खेल क्षेत्रलाई बुझेको, अनुभवी र विशेषगरी राष्ट्रिय खेलकुद संस्थान (एनआइएस) बाट तालिम प्राप्त व्यक्तिलाई नियुक्त गर्न खेलाडीहरूले जोडदार माग गरेका छन् । तर, सत्ता साझेदार दलहरूबीचको राजनीतिक भागबण्डाको रस्साकस्सीले नियुक्ति प्रक्रिया अनिश्चित बनेको छ ।
प्रदेशका खेलाडी तथा प्रशिक्षकहरूले विगतमा राजनीतिक नियुक्तिले खेलकुद क्षेत्र पछि परेको अनुभव सुनाउँदै यसपटक गल्ती नदोहो¥याउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले खेलको मर्म बुझ्ने र खेलाडीका समस्यासँग परिचित व्यक्तिले मात्र प्रदेशको खेलकुदलाई सही दिशा दिन सक्ने बताएका छन् ।
खेलाडी र प्रशिक्षक भन्छन् , ‘खेल बुझेको र एनआइएस गरेको व्यक्ति चाहियो’
झापा, दमकका भलिबलका अन्तर्राष्ट्रिय खेलाडी तथा चार पटक साफ खेलमा सहभागी भइसकेका भिष्मराज उप्रेतीले खेल क्षेत्रको नेतृत्व खेलाडी वा खेल विज्ञले नै गर्नुपर्नेमा जोड दिए । “यसअघि राजनीतिक दलका कार्यकर्ता नियुक्त गर्दा प्रदेशको खेलकुद क्षेत्र पछि प¥यो,’’ उनले भने, “खेल नबुझ्नेको हालिमुहाली भयो । देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भनेकै खेल क्षेत्र हो । त्यसैले खेल बुझेको र अझ एनआइएस जस्तो विशेष तालिम हासिल गरेको व्यक्ति सदस्य सचिव भएर आएमा प्रदेशको खेलकुदले फड्को मार्नेछ ।’
त्यस्तै, क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी विराटनगरका सिद्धान्त लोहनीले पूर्व खेलाडी वा खेल क्षेत्रमा लामो अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने सुझाव दिए । “खेलाडीसँगै बसेर काम गरेको, उनीहरुको दुःख–सुख बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्छ,’ लोहनीले भने, “सरकारले अन्य क्षेत्रमा विज्ञलाई मन्त्री नियुक्त गरेजस्तै खेलकुदमा पनि त्यही अभ्यास हुनुपर्छ । कोशी प्रदेशमा भारतमा गएर एनआइएस गरेका धेरै सक्षम प्रशिक्षकहरू हुनुहुन्छ । उहाँहरूमध्येबाट सदस्य सचिव नियुक्त गर्दा खेलाडीको मनोबल बढ्छ र समग्र विकासमा टेवा पुग्छ ।’’ उनले प्रदेश खेलकुद ऐनमै सदस्य सचिवको योग्यतामा एनआइएस गरेको हुनुपर्ने मापदण्ड थप्न सके अझै राम्रो हुने सुझावसमेत दिए ।
कुस्तिका प्रशिक्षक उमेश भण्डारीले पनि उप्रेती र लोहनीको भनाइमा सहमति जनाउँदै खेल क्षेत्रको विकासका लागि यही क्षेत्रको व्यक्ति आवश्यक रहेको बताए ।
खेलाडीहरूको मागबारे कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेल क्षेत्र बुझेको र यही क्षेत्रमा योगदान पु¥याएको व्यक्तिलाई नै सदस्य सचिव नियुक्त गर्ने बताएका छन् ।उनले रिक्त पदहरूमा चाँडै नियुक्ति प्रक्रिया अगाडि बढाइने आश्वासन दिएका छन् ।
यद्यपि, मन्त्रीको आश्वासनका बाबजुद नियुक्ति प्रक्रिया सहज देखिँदैन । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच पद हत्याउने होडबाजीका कारण नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । प्रदेश खेलकुद ऐनअनुसार सामाजिक विकास मन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले सदस्य सचिव नियुक्त गर्ने व्यवस्था छ । हाल सामाजिक विकास मन्त्रालयको जिम्मेवारी एमालेको भागमा परेकाले उसले यो पदमा आफ्नो स्वाभाविक दाबी गरेको छ । अर्कोतर्फ, अघिल्लो कार्यकालमा एमालेबाटै सदस्य सचिव नियुक्त भएकाले यसपटक उक्त पद आफूले पाउनुपर्ने कांग्रेसको बलियो अडान छ । यही राजनीतिक रस्साकस्सीले गर्दा नियुक्ति प्रक्रिया कहिले टुङ्गिन्छ भन्ने अनिश्चित छ ।
आकांक्षीहरूको दौडधूप
सदस्य सचिव पदका लागि दुवै दलबाट आकांक्षीहरूले आफ्नो दौडधूप तीव्र पारेका छन् । एमालेबाट सुनसरीका विप्लव घोष, मोरङका मुकेश बुढाथोकी र रविन थापाको नाम चर्चामा छ । यी मध्यै घोषको नाम अग्रपंत्तीमा छ । यता, नेपाली कांग्रेसले धरानका पूर्व फुटबल खेलाडी किशोर राईलाई अघि सारेको छ ।
खेलकुद क्षेत्रले एक योग्य, अनुभवी र खेल बुझेको नेतृत्वको अपेक्षा गरिरहँदा राजनीतिक दलहरू भने भागबण्डाको पुरानै खेलमा अल्झिएका छन् । खेलाडीहरूको आवाजलाई सम्बोधन गर्दै प्रदेश सरकारले राजनीतिक स्वार्थभन्दा माथि उठेर खेल विज्ञलाई नेतृत्व सुम्पिन सक्छ वा फेरि पनि राजनीतिक नियुक्तिले नै निरन्तरता पाउँछ, त्यो भने हेर्न बाँकी छ ।
View : 85
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved