बकर इद
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इदुल अजहा) आज देशभरका मस्जिद र इदगाहहरूमा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ।
बिहानैदेखि सेता पहिरनमा सजिएर श्रद्धालुहरू सामूहिक नमाजमा सहभागी भइरहेका छन्। नमाजपछि एकअर्कालाई अंगालो मार्दै ‘ईद मुबारक’ भनिरहेका दृश्य मस्जिद वरिपरि देखिन्छ।
यो पर्व इस्लाम धर्मका नबी इब्राहिमले अल्लाहको आदेश अनुसार आफ्नो प्रिय छोरा इस्माईललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाइन्छ। धार्मिक विश्वासअनुसार अन्तिम घडीमा इस्माईलको सट्टा स्वर्गबाट आएको दुम्बाको कुर्बानी भएको थियो। त्यसैको प्रतीकस्वरूप आज मुसलमानहरू धर्मले मान्यता दिएका जनावरहरूको कुर्बानी गर्दै छन्।
कुर्बानीको मासु तीन भागमा बाँड्ने परम्परा छ—एक भाग गरिबलाई, अर्को आफन्तलाई र तेस्रो भाग आफ्नै परिवारका लागि। यही माध्यमबाट समाजमा दया, सेवा र सहभाव फैलाउने प्रयास गरिन्छ।
यो पर्वसँगै मक्का–मदिनामा हज यात्रा गर्ने धार्मिक महत्व पनि जोडिएको छ। मक्का जान नसक्नेहरू भने आफ्नै घर आँगनमा यो पर्व मनाउँदै छन्। पर्व आजदेखि तीन दिनसम्म मनाइन्छ।
सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
View : 248
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved