गर्भको गर्व बेस्ट सेलरमा
हाम्रोमत दैनिकको आयोजनामा शनिबार विराटनगरमा लेखक डा. बालकृष्ण साहको गैरआख्यान कृति ‘गर्भको गर्व’ माथि संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले पुस्तकलाई “अत्यन्तै पठनीय र महत्वपूर्ण कृति” भन्दै सराहना गरे । उनले आफ्नी आमाले समेत पुस्तक अध्ययन गरिरहेको स्मरण गर्दै यसले नेपाली समाजमा महिला स्वास्थ्य र मातृत्वबारे गम्भीर बहस उठाउने विश्वास व्यक्त गरे । उनले कृतिको अंग्रेजी अनुवाद भए अन्तर्राष्ट्रिय जगतले नेपालको यथार्थ बुझ्न सक्ने उल्लेख गरे ।
साहित्यकार हरि बराल, हरि कट्टेल र दिनेश श्रेष्ठले पुस्तकका कतिपय प्रसङ्गहरू वास्तविक घटनामा आधारित रहेको उल्लेख गर्दै विवाहको उमेर, छोराप्रतिको अस्वस्थ चाहना, गर्भावस्थामा महिलाले भोग्ने शारीरिक–मानसिक पीडाजस्ता संवेदनशील पक्षलाई साहले जीवन्त ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिए ।
पत्रकार धिरज दाहालले फरक क्षेत्रका व्यक्तित्व डा. साहले नेपाली साहित्यलाई गरेकाे माया र भाषाकाे लगावलाई सम्मान गर्नैपर्ने तर्क सार्दै डा. साहकाे लेखाइ, भाषा, शिल्प उत्कृष्ट रहेकाे बताउदै सबैलाई कार्यक्रममा स्वागत गरेका थिए ।साहित्यकार तथा पत्रकार मिनकुमार नवदीत, साहित्यकार दिनेश सुवेदी र प्रतिमा निरौलालगायतले शुभकामना मन्तव्य दिँदै कृतिले समाजमा चेतना फैलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लेखक डा. साहले आफ्नो चिकित्सकीय जीवनमा देखेका वास्तविक घटनाहरूलाई पुस्तकमा उतारिएको उल्लेख गर्दै पाठकको साथले आगामी दिनमा अझ धेरै कृतिहरू ल्याउने प्रतिबद्धता जनाए । सो अवसरमा हाम्रोमत दैनिकले लेखकलाई सम्मानसमेत प्रदान गर्यो ।
कार्यक्रमको अध्यक्षता दैनिकका सम्पादक अर्जुन आचार्यले गरेका थिए भने सञ्चालन पत्रकार अनिल श्रेष्ठले गरेका थिए । समापन मन्तव्यमा सम्पादक आचार्यले ‘गर्भको गर्व’ ले नेपाली समाजमा गर्भावस्था र महिला स्वास्थ्यका विषयमा महत्वपूर्ण बहस सिर्जना गरेको बताए ।
साहित्यपोस्टले प्रकाशित कृतिमा नौ वटा कथाहरू समावेश छन्, जसमा ‘छोरी किन भएछु’, ‘चेलीका पीडा’, ‘रगतको जात’, ‘छोरीको माइती’ लगायत मार्मिक शीर्षकहरू समेटिएका छन् । यसअघि डा. साहले मातृत्व सुरक्षासम्बन्धी पुस्तक ‘आमा’ प्रकाशित गरिसकेका छन् ।
View : 248
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved