Biratnagar, Morang, Nepal
शिक्षा

शिक्षक आन्दोलन

शिक्षक महासङ्घको आन्दोलन रोकिएन, अध्यक्ष सुबेदीको आह्वान— 'काठमाडौँ आइपुग्नुहोस्, निर्णायक मोर्चा यही हो'

उनले लेखेका छन्, “हिजो वैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरूलाई धन्यवाद। आज वैशाख ३ गते पनि ठिक १२ः०० बजे माइतीघर मण्डलामा आइपुग्नुहोस्। हाम्रो आन्दोलन जारी छ।”
-
अखवारका कुरा
३ वैशाख २०८२, बुधवार

Advertisement

काठमाडौँ, वैशाख ३

शिक्षक महासङ्घको नेतृत्वमा जारी रहेको शिक्षक आन्दोलन अझ तीव्र हुने संकेत देखिएको छ। सरकारले शिक्षा विधेयकलाई वैशाख १२ गते संसदबाट पारित गराउने निर्णय गरे पनि महासङ्घ संवेदनशील मुद्दामा सरकार अझै अनुदार रहेको भन्दै आन्दोलन जारी राख्ने अडानमा छ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सोमबार सामाजिक सञ्जालमार्फत आन्दोलनकारी शिक्षकहरूलाई माइतीघर मण्डलामा भेला हुन पुनः आह्वान गरेका छन्।

उनले लेखेका छन्, “हिजो वैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरूलाई धन्यवाद। आज वैशाख ३ गते पनि ठिक १२ः०० बजे माइतीघर मण्डलामा आइपुग्नुहोस्। हाम्रो आन्दोलन जारी छ।”


सुबेदीका अनुसार, आन्दोलन अहिले निर्णायक मोडमा पुगेको छ। उनले सरकारप्रति गुनासो राख्दै भनेका छन्, “हामीले उठाएका विषयहरूमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अब अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन।”

देशभरका शिक्षकहरूलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै सुबेदीले राजधानी आउन आग्रह गरेका छन्।

"यो आन्दोलनले तपाईँको सक्रिय उपस्थितिको अपेक्षा गरिरहेको छ। तुरुन्तै काठमाडौँ आइपुग्नुहोस्," उनको भनाइ छ।

साथै उनले आन्दोलनबारे फैलाइएका अनधिकृत विचार, अफवाह, र भ्रामक समाचारहरू प्रति सतर्क रहन आग्रह गरेका छन्।

यता सरकारले शिक्षक आन्दोलन फिर्ता लिन आग्रह गरे पनि महासङ्घ अहिलेको अवस्थामा पछि हट्ने मनस्थितिमा देखिएको छैन। आन्दोलनका कार्यक्रमहरू अनुसार चरणबद्धरूपमा दबाब बढाइने संकेत अध्यक्ष सुबेदीका भनाइबाट प्रष्ट देखिन्छ।

View : 125

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved