दुर्गेश थापा विराटनगर आउँदै
विराटनगर, वैशाख १६ –
नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता हासिल गरेका गायक दुर्गेश थापा नयाँ वर्ष २०८२ को अवसरमा पहिलोपटक विराटनगरमा प्रत्यक्ष प्रस्तुति दिन लागेका छन्।
वैशाख २६ गते शुक्रबार, विराटनगर–८ स्थित हाटखोला मैदानमा आयोजना हुने 'दुर्गेश थापा लाइभ इन विराटनगर' शीर्षकको भव्य सांगीतिक कार्यक्रममा दर्शकहरूले थापाका चर्चित गीतहरू प्रत्यक्ष सुन्न र अनुभव गर्न पाउनेछन्।
लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको जानकारी आयोजकहरूले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।
संगीत, नृत्य र फेसनको संगम
कार्यक्रमका संयोजक सन्तोष महतका अनुसार थापासँगै अन्य कलाकारको नृत्य प्रस्तुति, फेसन शो र स्थानीय सांस्कृतिक स्वाद झल्किने विविध आकर्षणहरू पनि कार्यक्रमको हिस्सा हुनेछन्।
“यो केवल मनोरञ्जन मात्र होइन, सामाजिक उत्तरदायित्व बोकेको कार्यक्रम हो,” संयोजक महतले भने, “बचेको आम्दानीबाट अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई सहयोग गरिनेछ।”
थापाका हिट गीतहरू प्रत्यक्ष सुन्न पाइने अवसर
कार्यक्रममा ‘बीच्च बीच्चमा’, ‘डन आयो डन’, ‘ख्यास्स पुतली’, ‘दुश्मन हेरेको हेर्यै’ जस्ता दुर्गेश थापाका सुपरहिट गीतहरू प्रस्तुत गरिनेछन्। कार्यक्रम दिउँसो ४ बजेदेखि सुरु हुनेछ।
संगीत सगै स्थानीय परिकारको स्वाद लिन पाइने
कार्यक्रमका व्यवस्थापक कुमुद जैनले दर्शकका लागि तीन वर्गको टिकट उपलब्ध गराइने जानकारी दिए।
साथै, हाटखोला मैदानमा स्थानीय परिकारका स्टल, सुरक्षित बसोबास क्षेत्र र पारिवारिक वातावरणका लागि छुट्टै व्यवस्था गरिनेछ।
भव्य तयारी, विशेष अपेक्षा
आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि झण्डै १३ लाख रुपैयाँको लागत अनुमान गरिएको छ। विराटनगरमा नयाँ वर्षको सुरुवात एक सांगीतिक उत्सवका रूपमा मनाउन चाहने दर्शकका लागि यो कार्यक्रम विशेष अवसर हुने विश्वास व्यक्त गरिएको छ।
View : 211
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved