"मानवताको सेवा, जीवनको सर्वोत्तम कार्य हो" भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह २०२५ ’ अन्तर्गत किशोरी लक्षित कार्यक्रम ‘सुरक्षित महिनावारी, सुरक्षित उनी’ मंगलबार सम्पन्न गरेको छ।
विराटनगर–१३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा किशोरीहरूलाई महिनावारीसम्बन्धी सरसफाइ, स्वास्थ्य सुरक्षाका उपाय तथा स्यानिटरी प्याडको प्रयोगबारे जानकारी दिइयो।
कार्यक्रमका प्रमुख अतिथिले किशोरी अवस्थामै महिनावारीप्रति सकारात्मक सोच र व्यवहार विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू देशभर प्रभावकारी रूपमा विस्तार हुनुपर्ने धारणा व्यक्त गरे।
विधालयका प्रधानाध्यापक तुलसी दुलालले जेसीजले सम्झेर आफ्नो विद्यालयमा अत्यन्तै आवश्यक कार्यक्रम राखेकोमा आभार व्यक्त गरे ।
प्रशिक्षण सत्रमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले महिनावारीका बेला अपनाउनुपर्ने सरसफाइ, संक्रमणबाट जोगिने उपाय, मानसिक स्वास्थ्य र समाजमा व्याप्त भ्रम तथा लाजबारे प्रष्ट रूपमा जानकारी गराए।
कार्यक्रमका विशेष अतिथि टिकाराज ढकालले किशोरीहरूको आत्मविश्वास अभिवृद्धि तथा शारीरिक–मानसिक स्वास्थ्य सुधारमा यस्ता सचेतनामूलक कार्यक्रम उपयोगी हुने बताए।
कार्यक्रम संयोजक हेमन्त रजकले सहभागी सबैलाई धन्यवाद दिँदै किशोरीहरूको स्वास्थ्यप्रति सचेतना फैलाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए।
मुख्य कार्यक्रम संयोजक अभिषेक भट्टराईले कार्यक्रमको उद्देश्य, तयारी, सहभागिता र प्रभावबारे प्रकाश पारे ।
विराटनगर जेसीजका अध्यक्ष पृतेश राज दाहालले समापन मन्तव्य दिँदै किशोरीहरूको स्वास्थ्य, शिक्षा र आत्मसम्मानको लागि यस्ता अभियानहरूलाई निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत करिब ७० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूलाई महिनावारीसम्बन्धी जानकारीका साथै निःशुल्क स्यानिटरी प्याड पनि वितरण गरिएको थियो।
View : 265
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved