डाटा व्यवस्थापन तालिम
विराटनगर । उच्च शिक्षामा गुणस्तरीय सुधार र वैज्ञानिक अध्ययन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले गोग्राहा कलेज, विराटनगरमा "डाटा व्यवस्थापन तथा विश्लेषण तालिम" सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरको सहयोगमा आयोजना गरिएको तीनदिने तालिम बैशाख १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति दीपक चापागाईंले तथ्यांक र डाटाको प्रभावकारी प्रयोगले शिक्षालाई आधुनिकता र परिणाममुखी बनाउने बताउँदै यस्ता तालिमहरू आवश्यक र सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. मिनराज ढकालले तथ्यांकको व्यवस्थापन र विश्लेषण शैक्षिक अनुसन्धान, नीतिनिर्माण र सेवा प्रवाहमा अनिवार्य उपकरण बन्न पुगेको उल्लेख गर्दै, यस्ता तालिमहरूले सहभागीहरूमा वैज्ञानिक सोच र निर्णय क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
क्याम्पस प्रमुख गोबिन्द प्रसाद अधिकारीले तालिमको औपचारिक सुरुआत गर्दै आधुनिक शैक्षिक प्रणालीमा डेटा व्यवस्थापनको महत्त्व उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा प्रदान गर्न अनुसन्धानमुखी सोच आवश्यक हुन्छ, र त्यसको मूल आधार हो डेटा। गोग्राहा कलेज सदैव यस्ता व्यवहारिक सीप विकास गर्ने कार्यक्रमहरूमा अग्रसर रहँदै आएको छ।” उहाँले सहभागिहरूलाई तालिमको अधिकतम लाभ उठाउन आग्रह गर्नुभयो।
तालिममा प्रशिक्षक प्रा.डा. पेशल खनाल लगायतको टिमले डेटा संकलन, प्रशोधन, विश्लेषण र निष्कर्ष निकाल्ने प्रक्रिया विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण दिनेछन्। डा. खनालले बताएअनुसार, “डाटा व्यवस्थापन अहिलेको शिक्षाको मेरुदण्ड हो, जसको ज्ञान बिना आधुनिक अनुसन्धान सम्भव छैन।”
कार्यक्रमको सञ्चालन गोग्राहा कलेजका प्राध्यापक दिनेश ढकालले गर्नुभएको थियो। उहाँले उद्घाटन सत्रलाई आकर्षक र व्यवस्थित ढंगले अगाडि बढाउनुभएको थियो।
तीन दिनसम्म सञ्चालन हुने तालिममा गोग्राहा कलेजसहित पुर्वाञ्चज विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा कर्मचारीहरूसहित ३० जनाकाे सहभागिता रहेको छ। आयोजकले यो तालिमबाट सहभागीहरूको व्यावसायिक क्षमता उल्लेख्य रूपमा अभिवृद्धि हुने अपेक्षा लिएको छ।
View : 248
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved