जेसीजको सेवा
झापा, बाह्रदशी – शिक्षा क्षेत्रलाई केन्द्रमा राख्दै बाह्रदशी जेसीजले उदाहरणीय सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ। संस्थाले यस वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना अति विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै स्टेशनरी सामग्री र नगद सहयोग प्रदान गरेको हो।
गाउँपालिका कार्यालयमा आयोजित विशेष समारोहमा प्रत्येक विद्यार्थीलाई ४ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री र थप एक हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, विद्यालयका शिक्षक, जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा सम्पन्न भयो।
जेसीजले सन् २०२३ देखि “एक सदस्य, एक अभिभावक” भन्ने नारासहित सञ्चालन गर्दै आएको यस अभियानले हरेक वर्ष नयाँ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आएको छ।
यस पटक अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई स्वयंले अमृत माविका मनिष राजवंशी र सुन्दरपूर विद्यालयकी आशिका गणेशको अभिभावकत्व ग्रहण गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरे। जेसीज २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलबारी माविकी पद्मा राजवंशीको शिक्षाको जिम्मेवारी लिएका छन्।
संस्थापक अध्यक्षदेखि पूर्व अध्यक्षसम्मले समेत अभिभावकत्व ग्रहण गरी कार्यक्रमलाई थप सशक्त बनाएका छन्। कार्यक्रमको दोस्रो खण्डमा भित्तेपात्रो विमोचन गरिएको थियो, जसको संयोजन विश्वास गौतमले गरेका थिए। अभिभावकत्व कार्यक्रम राजु अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चम्लागाईले, “यस्ता रचनात्मक प्रयासहरूले विपन्न बालबालिकालाई उज्यालो भविष्य तर्फ डोऱ्याउँछन्,” भन्दै जेसीजको कार्यको प्रशंसा गरे। प्रमुख प्रशासकीय अधिकृत निरौलाले यस्ता कार्यक्रमको नियमित अनुगमन आवश्यक रहेको सुझाव दिए।
कार्यक्रममा प्रधानाध्यापक थीरकुमार दाहाल, वडा अध्यक्ष महताव आलम, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
बाह्रदशी जेसीजको यो पहलले शिक्षा मात्र होइन, समाजमा सामूहिक उत्तरदायित्व र संवेदनशीलता फैलाउने कार्यसमेत गरेको स्थानीयवासीले बताएका छन्।
View : 401
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved