काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका सवालमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।
नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै लोकतन्त्रमा विचारको विविधता स्वाभाविक भए पनि राष्ट्रिय हितमा सबै एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरिन् ।
‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक–फरक विचार भएकै कारण यति धेरै दल दर्ता भएका होलान्,’ उनले भनिन्, ‘विचारमा विविधता हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर राष्ट्रिय हितका लागि सबै शक्ति एक ठाउँमा उभिनैपर्छ।’
प्रधानमन्त्री कार्कीले अहिले निर्वाचनको पक्षमा सबै दल एकताबद्ध हुने समय आएको उल्लेख गरिन् । ‘विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्छ,’ उनले थपिन्, ‘सबैको विचार एउटै हुँदैन। मेरो विचार मात्र ठिक हो भन्नु लोकतन्त्रसम्मत हुँदैन। आफ्ना विचार जनतामा लैजाने र जनताबाट अनुमोदन पाउने अवसर नै निर्वाचन हो।’
निर्वाचन सफल बनाउन सरकार पूर्ण तयारीमा रहेको उल्लेख गर्दै उनले सुरक्षाका विषयमा कुनै शंका नगर्न आग्रह गरे । ‘हतियार र कैदीहरू धेरैजसो फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइएको छ। निर्वाचनका लागि छुट्टै प्रहरी भर्ती प्रक्रिया पनि अघि बढेको छ,’ उनले भनिन्, ‘ठूलो भूकम्प वा प्राकृतिक विपद् आए बाहेक फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन।’
प्रधानमन्त्री कार्कीले देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिप्रति आश्चर्य व्यक्त गरे । ‘दक्षिण एसियाका साना मुलुकहरू आज प्रताडित भइरहेका छन्। हामी कस्तो मुलुक बन्ने भन्ने विषयमा पनि मनन गर्न जरुरी छ,’ उनले भनिन् ।
पुरानो र नयाँ विचारबीच देखिएको द्वन्द्वलाई पारिवारिक वातावरणमै समाधान गर्नुपर्नेमा उनले जोड दिए । ‘हामी सबै एउटै घरका सदस्य हौँ। पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्दैन। हामी सुध्रिन र सच्चिन आवश्यक छ,’ उनको भनाइ थियो।
यो सरकार चुनाव गराउनै आएको दोहो¥याउँदै प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरिन् । ‘सरकार गठनकै बेला उक्त मितिमा चुनाव गराउने कार्यादेश पाएका हौँ। यसबाट दायाँबायाँ गर्ने छुट हामीलाई छैन,’ उनले स्पष्ट पारिन् ।
भेटका क्रममा नागरिक बचाउ दल, नेपालका अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए ।
View : 42
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved