काठमाडौँ, १४ वैशाख – नेपाल जनस्वास्थ्य संघ (नेफा)का केन्द्रीय अध्यक्ष कृष्णमान शाक्य पदच्युतको अवस्थामा पुगेका छन्।
एक वर्षअघि २०७८ चैत २७ गते संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका शाक्य संघकै विधान विपरीत पद सम्हालेको ठहर भएको हो।
संघका सदस्य टोपेन्द्र खड्काले शाक्यको अध्यक्षीय नियुक्ति वैध नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दर्ता गरेका थिए।
उक्त उजुरीपछि भएको छानबिनमा, शाक्यले अघिल्लो कार्यकालमा संघको केन्द्रीय सल्लाहकार समितिमा सदस्य रहेका कारण उनी केन्द्रीय पद सम्हाल्न अयोग्य रहेको पुष्टि भएको हो।
संस्थाको विधान २०४७ (तेस्रो संशोधन २०७०) अन्तर्गत दफा १६ (ङ) मा सल्लाहकार समितिमा रहेका व्यक्तिले भविष्यमा केन्द्रीय समिति वा पदमा बस्न नपाउने प्रावधान छ।
जिल्ला प्रशासन कार्यालयले शाक्यलाई अवैध अध्यक्ष ठहर गर्दै ७ वैशाखमा नेफालाई कारबाहीसम्बन्धी पत्र पठाएको छ।
त्यसपछि संघले ९ वैशाखमा बैठक आयोजना गर्दै उपाध्यक्ष तेजप्रसाद दुलालको अध्यक्षतामा छलफल गरेको थियो।
बैठकमा शाक्यले स्वयं कारबाही पत्रबारे जानकारी गराएका थिए।
यस घटनाले नेपाल जनस्वास्थ्य संघभित्र नेतृत्व संकट र आन्तरिक विवाद चुलिने सङ्केत गरेको छ।
अब नेफाको आगामी कदम र नेतृत्व व्यवस्थापन कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
View : 286
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved