कोशी प्रदेश लगानी सम्मेलन
विराटनगर — मुलुकमै पहिलोपटक प्रदेशस्तरीय लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। कोशी प्रदेश सरकारले आउँदो बैशाख १८ र १९ गते विराटनगरमा आयोजना गर्न लागेको ‘कोशी प्रदेश लगानी सम्मेलन–२०८१’ ले निजी क्षेत्रसँगको साझेदारीमार्फत रोजगारी र पूँजी निर्माणमा ठूलो फड्को मार्ने विश्वास लिएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै सम्मेलन सचिवालयले ७ क्षेत्रका ५४ वटा परियोजना सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी गराएको छ। ती परियोजनाको कुल लागत १ खर्ब ३९ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रहेको छ।
सचिवालयका संयोजक पवनकुमार तिम्सिनाले भने, “सार्वजनिक–निजी साझेदारीका आधारमा यी परियोजनाहरूलाई लगानीकर्तासामु प्रस्तुत गरिनेछ। प्रदेशको समृद्धिको मार्ग यहीबाट सुरु हुन्छ।”
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले पर्यटन, पूर्वाधार, कृषि, उर्जा, उद्योग, सूचना प्रविधि र फोहरमैला व्यवस्थापन क्षेत्रका परियोजनाहरू ‘शोकेसिङ’ गरिने जानकारी दिए।
उनका अनुसार थप १५ वटा परियोजनामा ३१ अर्बभन्दा बढी लगानी प्रस्ताव तयार भइरहेको छ।
सम्मेलनको ढाँचा कस्तो छ?
पहिलो दिन उद्घाटन समारोहपछि लगानीकर्ताहरूलाई प्रदेशको समग्र अवस्थाबारे जानकारी गराइनेछ। दोस्रो दिन तीन शैक्षिक सत्र (सेसन)मार्फत परियोजनाको विस्तृत प्रस्तुति हुनेछ, जसपछि रुचि राख्ने लगानीकर्तासँग समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
“कम्तीमा १ अर्बको लगानी सम्झौता गराउने हाम्रो प्राथमिक लक्ष्य हो,” डा. कोइरालाले स्पष्ट पारे।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन सफल बनाउनका लागि कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले प्रदेश सरकार र संघीय सरकार मिलेर लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
View : 433
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved