क्षणभर मै खरानी भयो नेपालीरिका
सुन्दरहरैचा ।
नेपालीरिका होटल अब केवल धुवाँ र खरानी भएको छ । उधोगी भोलेश्वर दुलालको ३२ वर्षको मेहनत, पसिना, संघर्ष र सपना केही घण्टामै जलेर हरायो। तर पनि अझै बगिरहेको छ - विश्वास, जिम्मेवारी र भविष्यको आशा।
सानै उमेरमा पिता गुमाएर आमाको काखमा हुर्किएका दुलालले आफ्नो जीवनलाई संघर्षसँग बाँधेर अघि बढाए। विदेशमा अवसर थियो, तर उनले आफ्नै माटोमा केही गर्न अठोट लिए ।
“जे गर्ने हो यही देशमा गर्ने हो। यही ठाउँमा गर्नुपर्छ। सुन्दर हरैचामै गर्नपर्छ । ,” उनले सदैव भन्ने गर्दथे ।
उनले रोपेको सपना हजारौंको रोजगारी, समाजको विश्वास र सुन्दरहरैचाको शान बनेको थियो।
अहिले होटलको सम्पुर्ण कार्य उनका छोरा आकाश दुलालले हेर्ने गर्थे , उनी हाल व्यावसायिक कामको सिलसिलामा अमेरिका, न्यूयोर्क सिटीमा छन्। उनी मौन छन्, तर प्रश्नहरू रोकिएका छैनन्।
उनले सामाजिक संजालमा लेखेका छन - “म कहाँबाट सुरु गरूँ? किन भयो? कसले गर्यो? उसले के पायो?”
भावुक हुँदै उनी आफ्ना विचार व्यक्त गरिरहेका छन - “होटल केवल इँटा–ढुङ्गा थिएन। मेरो पिता रोपेको सपना थियो। सुन्दरहरैचाको गौरव थियो। उद्योगीको भरोसा, कर्मचारीको विश्वास, हाम्रो समाजको सपना सबै जलेको छ।”
होटल जल्दा हजारौंले हेरे, तर कसैले रोक्ने साहस देखाएनन ।
आकाश प्रश्न गर्छन्:
तपाईं सबैले किन मौन रहनुभयो?
कसले आगो लगाउन उक्सायो?
सरसामान किन चोरी भयो?
सिसा र पर्खाल किन फुटाइयो?
स्थानीय बासिन्दा केही गर्न नसकेकोमा रोक्न नसकेकोमा दुखी छन । पिडा युक्त स्वरमा उनीहरुको एउटै भनाइ छ -“होटल हाम्रो गौरव थियो। आज त्यो गौरव धुवाँमा हरायो।”
कर्मचारी पनि पिडामा रहेकाछन । उनीहरुको पीडा थामिनसक्नु छ । उनीहरु भन्छन
“हाम्रो रोजगारी र भविष्य दुवै जलेर गयो ।”
तर पनि आकाशमा अझै फेरि उठ्ने उर्जा जोश र जागर मरेको छैन । उनले समाजिक संजालमा लेखेका छन - “म डगमगाएको छैन। नेपालीरिका होटलको खरानीलाई शिरमा बोकेर म फेरि उठ्नेछु। पिताले रोपेको विश्वास फेरि रोप्नेछु। PLO ग्रुप फेरि उठ्नेछ – हिमालझैँ अटल भएर।”
आज पनि नेपालीरिका धुवाँमा उडिरहेको छ। बाकी छ त केवल खण्डहर भवन। पीडा ठूलो छ, तर पनि आकाशको अठोट अझ ठूलो छ । विश्वास अडिग छ। जसले पुन: नेपालीरिकालाई सुन्दर हरैचाको सानको रुपमा उभ्याउने छ ।
View : 227
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved