महावीर पुनको पुस्तक विक्री अभियान
विराटनगर, बैशाख ७ — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको प्रेरणामा विराटनगर जेसीजले एउटा महत्वपूर्ण र सार्थक कदम चालेको छ। डा. पुनको जीवनदृष्टिको अनुसरण गर्दै जेसीजले रु १५,०००/- बराबरको पुस्तक खरिद गरेर शिक्षा र नवपर्वतनको यात्रामा नयाँ मोड थपेको छ।
डा. महावीर पुनले कार्यक्रमको प्रमुख अतिथिका रूपमा आफ्नो उपस्थिति जनाउँदै युवाहरूलाई सिर्जनात्मक सोच र समाजको विकासमा योगदान पुर्याउन प्रेरित गर्नुभयो । उहाँले भन्नुभयो, "समाजमा परिवर्तन ल्याउनका लागि हाम्रो सोच र प्रयास नै मुख्य हो। सिर्जना भनेको केवल आविष्कार होइन, समाजका समस्याहरूको समाधान पनि हो।" उहाँका शब्दहरूले उपस्थित युवाहरूलाई गहिरो प्रभाव पार्यो।
कार्यक्रममा बोर्ड अफ ट्रस्ट अध्यक्ष जेसी टिकाराज ढकाल,पुर्व अध्यक्षहरु जेसी टि.पी. आचार्य,जेसी देवचन्द्र घिमिरे, र विद्यालयका प्रधानाध्यापक तुलसी दुलाल जस्ता सम्मानित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो। सबै अतिथिहरूले युवाहरूको समर्पण र सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गर्नुभयो ।
विराटनगर जेसीजले सन् २०२३ मा राष्ट्रिय आविष्कार केन्द्रलाई रु ५१,०००/- को सहयोग प्रदान गरेको थियो। यस वर्ष, संस्थाले सामाजिक जागरण र शिक्षा प्रवर्द्धनका लागि रु १५,०००/- बराबरका पुस्तकहरू खरिद गरेको हो, जसलाई समुदायमा वितरण र अध्ययनको लागि उपयोग गरिनेछ। यो पहलले समुदायमा पुस्तकमैत्री वातावरण बनाउन र युवा पुस्तालाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने छ।
कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष प्रीतेशराज दाहालले भन्नुभयो:
“हामी केवल कार्यक्रम नगरेर, हामी सोच र समाजमा परिवर्तन ल्याउनका लागि वास्तविक कदम चालेका छौं। आज हामीले खरिद गरेका यी पुस्तकहरू भविष्यका प्रेरणाका बीउ हुन्। जब युवा जाग्छ, समाज हाँस्छ, र हामी यस हाँसो फैलाउने यात्रामा छौं।”
कार्यक्रम संयोजक जेसी निश्चल चौधरी र उपाध्यक्ष रिजन सिग्देलको उत्साही भूमिका उल्लेखनीय रह्यो। यो कार्यक्रम केवल औपचारिकता थिएन । यो युवाको सामाजिक उत्तरदायित्व र सिर्जनात्मकता प्रति समर्पणको वास्तविक उदाहरण बनेको छ ।
View : 207
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved