Biratnagar, Morang, Nepal
स्वास्थ

पुर्वको गौरव

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालको २५ औँ वार्षिकोत्सव भव्य समारोहका बीच सम्पन्न

-
अखवारका कुरा
७ भदौ २०८२, आइतवार

Advertisement

विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सव (रजत महोत्सव) शनिबार भव्य समारोहका बीच सम्पन्न गरेको छ । दुई दशकभन्दा लामो यात्रा पूरा गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले रजत वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम आयोजना गरेको हो ।

समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी स्वास्थ्य संस्थाले व्यापारिक दायित्वसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले विशेषगरी विपन्न तथा असहाय वर्गलाई गुणस्तरीय उपचारमा पहुँच दिलाउनु अस्पतालहरूको पहिलो कर्तव्य भएको उल्लेख गर्दै सरकारले त्यसका लागि कानुनी तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्टले सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक सुविधा दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रका अस्पतालहरूले यो अभाव पूर्ति गर्न अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा समाजसेवी तथा प्रख्यात गायिका आनी छोइङ डोल्माले अस्पताल र चिकित्सकलाई समाजले ‘आमापछि देवीदेवताको स्वरूप’ मान्ने उल्लेख गर्दै पीडित जनताको उपचारमा संवेदनशीलता र मानवीयता अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिइन् ।

समारोहको अध्यक्षता अस्पताल अध्यक्ष डा. वीरेन्द्रकुमार बिष्टले गरेका थिए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने चिकित्सक, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने अस्पताल स्थापनाकालदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।

अस्पतालकी निर्देशक डा. अनिशा बिष्टले आगामी दिनमा समुदायमुखी कार्यक्रम, गुणस्तरीय उपचार विस्तार, प्रविधिमैत्री सेवा र दक्ष जनशक्ति विकासलाई प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

View : 153

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved