नेपालमा सामाजिक संजाल दर्ता हुनुपर्ने
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तर्क्रियामा उनले सरकारले तीनपटक सूचना दिए पनि मेटाले अटेरी गरेको उल्लेख गरे।
मन्त्री गुरुङका अनुसार मेटाले नेपालमा दर्ता नगरी फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता प्लेटफर्म सञ्चालन गरी प्रत्येक घण्टा ठूलो मात्रामा पैसा विदेश लैजाँदै आएको छ। ‘हाम्रो समाजबाट पलपलमा हजारौँ रुपैयाँ मेटाको कार्यालयतिर गइरहेको छ,’ भन्दै उनले नेपालमा दर्ता र कर तिर्नुपर्ने माग गरे।
उनले मेटाको घमण्डप्रति आक्रोश व्यक्त गर्दै भने, ‘देशभन्दा ठूलो ठान्ने सोच राखेका छन् उनीहरू। नेपाल सानो भए पनि मुलुकको स्वाधीनता पैसामा बेचिँदैन।’
सरकारले तेस्रो पटक दिएको समयावधि सकिएको भन्दै मन्त्री गुरुङले अब सात दिनभन्दा बढी समय नदिइने र त्यसपछि मेटामाथि आवश्यक कारबाही हुने स्पष्ट पारे।
View : 225
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved