Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

जेन्जी आन्दोलन पछिको नेपाल: पुनर्निर्माण र समावेशी विकासतर्फ एक कदम

२७ भदौ २०८२, शनिवार

Advertisement


नेपालको इतिहासमा जनआन्दोलन, आन्दोलनका लहरहरू र सत्ता परिवर्तनका थुप्रै कालखण्डहरू आइगएका छन्। प्रत्येक परिवर्तनसँगै जनतामा आशा पलाउँछ—शान्ति, सुशासन, समृद्धि र समान अवसरको। हालैको जेन्जी आन्दोलन त्यसैको एक नवीन अध्याय हो, जसले पुरानो ढाँचालाई चुनौती दियो र नयाँ सोच, नयाँ नेतृत्व र नयाँ नेपाल बनाउने चाहना पुनर्जीवित गर्‍यो।

यो आन्दोलनले देखायो कि देश परिवर्तन गर्न हामी नेपाली कति दृढ छौं। दुई दिनमै देशका धेरै संरचनाहरू खरानीमा परिणत भए, तर त्यो विनाशमात्र होइन—त्यो एक चेतावनी थियो, एउटा अवसर थियो। अब त्यो एकताको ऊर्जा र साहसलाई सकारात्मक दिशामा प्रयोग गर्ने समय आएको छ।

आज हामी पुनःनिर्माणको मोडमा छौं। जलेका सार्वजनिक संरचनाहरू, भत्किएका सेवाहरू र बिग्रिएको विश्वास—यी सबैलाई फेरि नयाँ जीवन दिन सकिन्छ, यदि हामी फेरि एकजुट भयौं भने। पुनर्निर्माण केवल ईँटा र सिमेन्टको कुरा होइन, यो सोच र दृष्टिकोणको विषय हो। अब हामीले बनाउने संरचनाहरू केवल बलिया मात्र होइन, सबैका लागि पहुंचयुक्त र समावेशी हुनुपर्छ।

सन् २०१२ (वि.सं. २०६९) मा नेपाल सरकारले लागू गरेको पहुंचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका एउटा दूरदर्शी प्रयास थियो। तर, दुर्भाग्यवश, त्यसको प्रभावकारी कार्यान्वयन आजसम्म व्यापक रूपमा देखिएको छैन। अहिलेको सन्दर्भमा यो निर्देशिका झनै सान्दर्भिक बनेको छ।

विश्वव्यापी मापदण्ड (Universal Design) भन्ने अवधारणाले भन्ने गर्छ संरचना यस्तो होस् जुन सबै मानिसका लागि उपयोगी, सुरक्षित र सहज होस्—शारीरिक अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, वा अन्य कुनै पनि अवस्था भएका व्यक्तिका लागि। यही हो समावेशी विकासको मूल मर्म।

त्यसैले, जेन्जी आन्दोलन पछिको नयाँ नेपाल निर्माण अब केवल नयाँ इमारत, बाटो वा प्रणाली बनाउने कुरा होइन। यो सोच बदल्ने प्रक्रिया हो जसमा राज्यका प्रत्येक नीतिगत निर्णय, बजेट र योजना समान पहुँच र समावेशीताको मापदण्डमा आधारित हुनुपर्छ।

नयाँ सरकारसँग आम नेपाली जनताको ठूलो अपेक्षा छ। भ्रष्टाचारमुक्त शासन, शान्ति र सुरक्षाको प्रत्याभूति, अनि पुनर्निर्माणको गतिलाई समावेशी र दीगो बनाउने हाम्रो साझा चाहना हो। अहिलेको परिवर्तनलाई स्थायीत्वमा परिणत गर्न जनताको आवाज सुन्ने, बुझ्ने र समेट्ने बाटो यही हो।

अन्त्यमा, मेरो बिनम्र आग्रह छ—अब हामीले सुरु गर्ने पुनर्निर्माण र विकासका प्रत्येक पाइला समावेशी बनोस्। हाम्रो नेपाल केवल बलियो मात्र नभई सबैका लागि न्यायसंगत, पहुँचयुक्त र समान अवसरयुक्त बन्न सकोस्।

 


स्वतन्त्र लेखक: एक सजग नागरिक , आकृति रानि फुयल 
(सत्ता परिवर्तन देख्दै र भोग्दै आएको, परिवर्तनमा आस्था राख्ने नेपाली)

View : 228

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved