देशभर जेनजीको प्रदर्शन
विराटनगर - विराटनगरमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अप्रिल चापागाईं घाइते भएका छन्। प्रदर्शनकारीले फ्याँकेको ढुंगा अनुहारमा लागेर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ।
जेनजी पुस्ताका प्रदर्शनकारीहरू सोमबार बिहानैदेखि विराटनगरको सन्सारी माईस्थानबाट निस्किएर विभिन्न चोकमा नाराबाजी गर्दै आएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताविरुद्ध चर्का नारा लगाए भने काठमाडौं महानगरका मेयर बालेन साहको समर्थनमा नारा लगाएका थिए।
प्रदर्शनकारी रोडशेष चोक हुँदै मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोज्दा प्रहरीसँग धक्का–मुक्की भएको हो। निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले ब्यारिगेट लगाएर रोकेको थियो। त्यसपछि आक्रोशित प्रदर्शनकारीले ढुंगामुढा गर्दा इन्स्पेक्टर चापागाईं घाइते भएका हुन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। निषेधित क्षेत्रमा प्रवेश गर्ने योजना असफल भएपछि प्रदर्शनकारी अहिले महेन्द्र चोकमा केन्द्रित भएर नाराबाजी गरिरहेका छन्।
यसअघि प्रदर्शनकारीहरूले प्रदेशसभा सचिवालय अगाडि समेत प्रदर्शन गरेका थिए। निषेधित क्षेत्र तोड्दै सचिवालयको प्रवेशद्वारसम्म पुगेपछि केहीबेर तनाव भएको थियो।
View : 103
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved