प्रदेश लगानी सम्मेलन
विराटनगर, वैशाख १७ —
काेशी प्रदेश सरकारले आयोजना गर्न लागेको पहिलो प्रदेशस्तरीय लगानी सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सरकारअन्तर्गतकाे लगानी प्राधिकरणले बुधबार पत्रकार सम्मेलनमार्फत सम्मेलनका मुख्य पक्षहरूको जानकारी दिएको हो।
दुई दिनसम्म चल्ने सम्मेलनमा करिब १ खर्ब ७३ अर्ब रुपैयाँ बराबरका ७१ वटा परियोजना सार्वजनिक गरिने प्राधिकरणका कार्यकारी प्रमुख डा. सरोज कोइरालाले जानकारी दिए। उनका अनुसार सम्मेलनमा चीन, अमेरिका, रूस, भारत, दक्षिण कोरिया लगायत देशका लगानीकर्ता, गैरआवासीय नेपाली र स्वदेशी उद्योगी–व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहनेछ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार विराटनगरस्थित विरेन्द्रसभा गृहमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
कृषि, पर्यटनदेखि मेडिकल शिक्षासम्मको चर्चा
सम्मेलनमा प्रदेशको कृषि, पर्यटन, पूर्वाधार, उर्जा, औद्योगिक उत्पादन तथा स्वास्थ्य–शिक्षा क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल हुने बताइएको छ। पहिलो दिन विज्ञ र जनप्रतिनिधिहरूबाट लगानीमैत्री वातावरण र तीन तहका सरकारबीचको समन्वयबारे धारणा राखिनेछ।
नीति निर्माणमा सक्रियता
प्राधिकरणका अनुसार प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न ८ वटा ऐन अध्यादेशमार्फत संशोधन गरिसकेको छ। साथै, सम्भावित परियोजनाको सूची बनाउने, ती योजनाका प्राविधिक तथा आर्थिक पक्ष विश्लेषण गरी प्रस्तुत गर्ने, संघ र स्थानीय सरकारसँग सहकार्य गर्नेजस्ता ६ बुँदे नीतिगत प्रतिबद्धतासमेत घोषणा गरिएको छ।
छनोटमा प्रश्न, केही त्रुटि पनि
लगानीकर्ताहरूले परियोजना छनोट गहन अध्ययन बिना गरिएको भन्दै आलोचना गरेका छन्। सार्वजनिक गरिएको ७१ मध्ये ५२ परियोजनाको मात्र विस्तृत विवरण (प्रोफाइल) उपलब्ध छ। केही परियोजनामा फोटो र विवरण नमिलेको देखिएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राणा मगरले पनि छनोट प्रक्रिया लगानीकर्ताको सिफारिसका आधारमा भएकाले प्रभावकारिता कमजोर देखिएको स्वीकार गरेका छन्।
View : 57
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved